९ महिनादेखि शून्य नेपाली क्रिकेटलाई पिएमकप मार्फत फर्काउने प्रयास

 

काठमाडौं,७ मंसिर । कोरोना महामारीसँगै ९ महिनादेखि शून्य नेपाली क्रिकेटलाई पिएमकप मार्फत फर्काउने प्रयास गरिएको छ । प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय (पिएम) कप प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले डिसेम्बर अन्तिमदेखि सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीसँगै ९ महिनादेखि शून्य नेपाली क्रिकेटलाई पिएमकप मार्फत फर्काउन खोजेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । क्यानको योजना अनुसार पिएमकप सुरु हुन डेढ महिना बाँकी रहँदा औपचारिक रुपमा कुनै तयारी भने थालेको छैन । यो अवस्थामा क्यानले सिधै प्रदेश छनोट गर्ने तयारी गरिरहेको बुझिएको छ ।
जिल्ला छनोट कोरोना महामारीको कारण नहुने सम्भावना छ । अध्यक्ष चन्द पनि जिल्ला छनोट नहुनेमा स्वीकार गर्दछन् । अध्यक्ष चन्दका अनुसार क्यानले पिएमकप डिसेम्बर अन्तिम देखि सुरु गर्ने गरि तयारी गरिरहेको छ ।
पिएमकपमा ७ प्रदेश र तीन विभागीय टोली गरि कुल १० टोलीबीच प्रतिस्पर्धा हुने छ । जसमा दुई समूहमा पाँच–पाँच टोली विभाजन गरिने छ । दुविया समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा भिड्ने छन् ।
‘जिल्ला छनोट हुँदैन होला । प्रदेश छनोट भने गर्ने सल्लाह भइरहेको छ । डिसेम्बर अन्तिमबाट सुरु गरेर जनवरी दोस्रो हप्ता सम्म सम्पन्न गर्ने सोचमा छौं’, चन्दले भने । खेल मुलपानी र टीयू क्रिकेट मैदान हुने छन् । क्यानले पुरै १० टोलीबीच लिग गर्ने सोच बनाएपनि कोरोना महामारीको कारण समूहमा बाँडेर गर्नुपर्ने बाध्यता भएको चन्द बताउँछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पिएमकपको लागि ४० लाख रुपैयाँ छुट्याएको छ । अन्य रकम क्यानले प्रायोजनबाट उठाउनुपर्ने हुन्छ ।
ओडिआई मान्यता देश नेपालको पिएमकप एकमात्र राष्ट्रिय एक दिवसिय प्रतियोगिता हो । सुनसरीको इनरुवामा मनोमहन मेमोरियल एक दिवसिय प्रतियोगितालाई अझै राष्ट्रिय प्रतियोगिताको मान्यता भने पाई सकेको छैन । क्यान निलम्बनमा हुँदा राखेपले पिएमकप सन् २०१७ देखि सुरु गरेको थियो ।
पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।
यस अघिका तीन संस्करणमा क्यान नहुँदा पिएमकपको लागि जिल्ला र प्रदेश छनोट भने हुन सकेको थिएन । यस पटक गत चैतमा कोरोना महामारी सुरु हुनुअघि काठमाडौं लागयत केहिले पिएमकपको लागि जिल्ला छनोट सुरु गरेपनि बीचैमा स्थगित गर्नु परेको थियो । पहिलो संस्करण काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर तथा दोस्रो र तेस्रो नेपालय इन्टरनेशनल प्रा.लीको व्यवस्थापनमा सम्पन्न भएको थियो ।
गतवर्ष भने नेपालय व्यवस्थापन देखि खेलाडीको व्यक्तिगत अवार्ड लगायत थुप्रै कुरामा विवादमा परेको थियो । पहिलो संस्करणमा राखेपले २५ लाख, दोस्रोमा ६५ लाख र तेस्रो संस्करणमा ८० लाख रुपैयाँ छुट्याएको थियो । विजेताले २० लाख र उप विजेताले १० लाख रुपैयाँ प्राप्त गर्दै आएका छन् ।
यसैगरी, नेपाल क्रिकेट संघ (क्यान) ले आगमी अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै २२ सदस्य राष्ट्रिय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरेको टोलीमा पुरानै अनुहारहरु छन् । टोलीको प्रशिक्षकको रुपमा जगत टमटा रहेका छन् । मंसिर १० गतेदेखि सुरु हुने प्रशिक्षणमा क्यानले त्यसको दुई दिन अघि सबै खेलाडीको पिसिआर परिक्षण गर्नेछ । नेगेटिभ रिपोर्ट आउने खेलाडीलाई मात्र प्रशिक्षणमा सामेल गरिने क्यानले जनाएको छ ।
नेपालले पछिल्लो पटक गत फागुनमा थाईल्यान्डमा टि२० इस्टर्न रिजन छनोट खेलेको थियो । नेपालले आगमी मार्चमा ओमानमा आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना छ । नेपालले पछिल्लो पटक बन्द प्रशिक्षण माघमा इस्टर्न रिजनको लागि १८ सदस्य खेलाडीलाई बोलाएको थियो । फागुनमा भएको उक्त इस्टर्न रिजन पछि नेपालले पहिलो पटक खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । उक्त बन्द प्रशिक्षणमा नरहेका ब्याट्सम्यान शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामीले टोलीमा स्थान बनाएका छन् । पछिल्लो पटक बन्द प्रशिक्षणको अन्तिम १८ मा रहेका युवा स्पिनर शेर मल्ल र युवा ब्याट्सम्यान लोकेश बम प्रशिक्षणमा बोलाईएको छैन ।
टोलीको प्रशिक्षकमा जगत टमाटा नै रहेका छन् । क्यानले अन्तर्राष्ट्रिय प्रशिक्षकको अन्तर्वार्ता लिएपनि छनोटको अन्तिम चरण बाँकी रहेकाले टमाटाले नै टोलीको प्रशिक्षण सम्हाल्नेछन् । यस्तै क्यानले व्यवस्थापकमा पनि फिजियो विक्रम न्यौपानेलाई नै जिम्मेवारी दिएको छ । क्यानले यसअघि अर्को नियुक्ति नहुँदासम्म न्यौपाने नै कार्यवाहक रहने जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *