फिल्म क्षेत्रमा प्रतिबन्ध कायमै राखेपछि फिल्मकर्मीहरु आक्रोशित

काठमाडौं, ७ कात्तिक । लकडाउन अन्त्य र निषेधाज्ञा खुकुलो भएपनि सरकारले फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध अझै फुकुवा नगरेपछि फिल्मकर्मीहरु सरकारसँग आक्रोशित भएका छन् । कोरोना भाइरसको महामारी रोक्न सरकारले चैत पहिलो साताबाट देशभर लकडाउन घोषणा ग¥यो । यसपछि नेपालका हरेक क्षेत्र बन्द भए । फिल्म क्षेत्र भने लकडाउन हुनुभन्दा अगावैदेखि बन्द भएको थियो । लकडाउन अन्त्य र निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ । तर, फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध अझै फुकुवा भएको छैन । सरकारले भीडभाड हुने अन्य क्षेत्र खुल्ला गरेर फिल्म क्षेत्रमा प्रतिबन्ध कायमै राखेपछि फिल्मकर्मीहरु आक्रोशित भएका छन् । आठ महिनाभन्दा लामो समयदेखि सिनेमा हल, फिल्म निर्माण र प्रदर्शन ठप्प हुँदा हजारौं फिल्मकर्मीलाई समस्या परेको छ । प्राविधिकहरुलाई आर्थिक संकट उत्पन्न भएको छ । तर, सरकारले फिल्म क्षेत्रका समस्यालाई नजरअन्दाज गरेको देखिन्छ ।
हल सञ्चालकहरु सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिने आशमा बसेका छन् । उनीहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हलमा ५० प्रतिशत दर्शक राखेर फिल्म प्रदर्शन गर्न तयार छन् । तर, सरकारले सिनेमा हल खोल्न आनाकानी गरेको अवस्था छ । दशैंदेखि फिल्मको छायांकन भने भइरहेका छन् । यसले फिल्म क्षेत्रमा केही हदसम्म चहलपहल सुरु भएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले एकपछि अर्को फिल्मको घोषणा भएर छायांकन सुरु हुन थालेकोमा खुसी व्यक्त गरेका छन् । अब फिल्म क्षेत्र विस्तारै उठ्न थालेको उनको भनाई छ । सरकारले चाँडै फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिने विश्वास व्यक्त गर्दै उनले सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन गर्न आग्रह गरेका छन् ।
सानो टिमका लागि सरकारले फिल्म छायांकनमा अवरोध नगरेको उनले बताए । शनिवार एक कार्यक्रममा दाहालले भने( ‘मैले सरकारका मन्त्रीहरु र सम्बन्धित क्षेत्रका व्यक्तिसँग पनि फिल्म क्षेत्र सुचारु गर्न आग्रह गरिरहेको छु । फिल्म क्षेत्रका गतिविधि ठप्प हुँदा दैनिक श्रम गरेर जीवनयापन गर्ने फिल्मकर्मीलाई समस्या भएको छ । त्यसैले फिल्म क्षेत्र खुलाउनु पर्छ भन्ने मेरो मान्यता हो ।’
‘मैले दुई महिना अगाडिदेखि सरकारसँग चाँडोभन्दा चाँडो सिनेमा हल र फिल्म छायांकनको अनुमति दिन माग गरिरहेको छु । कोरोनाले श्रमजीवि फिल्मकर्मीको पहिचान नै मेटिने अवस्था आयो भनेर मैले सञ्चार मन्त्रालयलाई पत्रचार गरेको थिएँ । सञ्चार मन्त्रालयले पनि सिसिएमसीलाई सिनेमा हल र फिल्म छायांकन खोल्न स्वीकृति दिनु भनेर प्रस्ताव पठाइसकेको छ,’ उनले भने ।
फिल्मको छायांकन गर्नुअघि स्थानीय वडा र नगरपालिकासँग सम्वन्य गर्न उनले निर्माता तथा निर्देशकलाई सुझाव दिएका छन् । सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम सुचारु गर्नुपर्ने उनको भनाई छ । कुनै व्यक्ति विशेष वा राजनीति दलको दबाबले फिल्म क्षेत्रका गतिविधि नरोकिएको बताउँदै उनले कोरोनालाई सामान्य रुपमा नलिन पनि आग्रह गरेका छन् ।
यसैगरी, चलचित्र विकास बोर्डको इतिहासमा सबैभन्दा कठिन समयमा अध्यक्षमा नियुक्त भएका दाहाल कोरोनाका कारण विगत ८ महिनादेखि ठप्प रहेको फिल्म क्षेत्र पुनः सुचारु गर्न प्रयासरत छन् । लकडाउनको समय (साउन) मा बोर्ड अध्यक्षमा नियुक्त भएका उनी चाँडै फिल्म क्षेत्र सुचारु हुनेमा विश्वस्त छन् । सरकार फिल्म क्षेत्र खोल्न सकारात्मक रहेको उनको भनाई छ ।
उनी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि कोरोनाका कारण फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन् । अघिल्ला बोर्ड अध्यक्ष जस्तो उनी फिल्म सम्बन्धी कार्यक्रममा निस्कन पनि पाएका छैनन् । शनिवार बोर्ड अध्यक्षमा नियुक्त भएपछि पहिलो पटक उनी फिल्म ‘डिसेम्बर फल्स’ को घोषणा कार्यक्रममा उपस्थिति थिए । यो फिल्ममा उनले अभिनय पनि गर्दैछन् ।
बोर्ड अध्यक्षमा नियुक्त भएपछि पहिलो पटक फिल्मको घोषणा कार्यक्रममा उपस्थिति हुन पाएकोप्रति खुसी व्यक्त गर्दै उनले बोर्डमा आफ्नो पूर्नजन्म भएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘बोर्डमा आएपछि फिल्मको कुनै कार्यक्रममा उपस्थिति भएको यो मेरो पहिलो हो । यसकारण मेरो लागि यो ठूलो उपलब्धी हो । मेरो चलचित्र विकास बोर्डमा पूर्नजन्म भयो ।’
आफू बोर्डमा आएपछि फिल्म क्षेत्र धरासायी भएको कुरा मात्र सुन्दै आएको बताउँदै उनी भन्छन्, ‘यो फिल्मको घोषणाले अब हामी उठ्दै पनि रहेछौं भन्ने लागेको छ । हामी जस्तो सुकै विपत्तिमा पनि हार्र्दैनौं भन्ने यसले देखाएको छ ।’ अध्यक्ष दाहालले केही समय कोरोनाले अलमलाए पनि अब सावधानी अपनाएर फिल्म सम्बन्धी गतिविधि सुचारु गर्न फिल्मकर्मीलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *