नेपाल र बंगलादेशबीच भएको दोस्रो खेल गोलरहित बराबरीमा सकियो


काठमाडौं, ३ मंसिर । नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ ।नेपालले पछिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले खेल अवधिभर संयमित प्रदर्शन गरेको थियो । बल पोसेसनमा जोड दिएको नेपालले केहि आक्रमण बुनेपनि त्यसमा सफल हुन भने सकेन । बल पकडमा राखेपनि अन्तिम पास निकाल्न भने नेपाली मिडफिल्डलाई कठिनाइ भएको थियो ।
खेलको तेस्रो मिनेटमा दर्शन गुरुङको फ्रिकिक क्लियर भएर आएपछि तेज तामाङले झन्डै ३० यार्ड टाढाबाट गरेको भली गोलरक्षक अशरफुल रानाले बचाए । त्यसपछि दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरेपनि डिफेन्स लाइन तोड्न भने निकै संघर्ष गर्नुपर्यो । नेपालले खेलको १९ औं मिनेटमा नै खेलाडी परिवर्तन गरेको थियो । कप्तान भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए ।२३ औं मिनेटमा बंगलादेशका सुमन रेजाले पेनाल्टी क्षेत्र बाहिरवाट गरेको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । २८ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र सादले उद्दीनले दिएको क्रसलाई अनन्त तामाङले क्लियर गर्दै नेपालको खतरा टारे । ३१ औं मिनेटमा जिबनको क्रसमा सुमन रेजाको प्रहार फितलो हुँदा गोलरक्षक किरण चेम्जोङले सहजै बचाए ।३३ औं मिनेटमा एरिक विष्टको प्रहारमा अनन्तको हेडरले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा विश्वनाथ घोषको लामो थ्रोमा गोलरक्षक किरण झुक्किएपनि बंगलादेशले फाइदा उठाउन सकेन । ३९ औं मिनेटमा बंगलादेशी कप्तान जमाल भुयाँको फ्रिकिकलाई किरणले बचाए ।दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै पुजन उपरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । ५६ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । छिरिङ गुरुङको लो क्रसमा नवयुग श्रेष्ठ र सुजल श्रेष्ठ दुवैले पेनाल्टी क्षेत्रभित्र सट प्रहार गर्न सकेनन् । त्यसको दुई मिनेटपछि साद उद्दीनले बढाएको बललाई किरणले अगाडी बढेर रोक्दै खतरा टारे ।लगत्तै अनन्तले उत्कृष्ट डिफेन्स गर्दै बंगलादेशको अर्को आक्रमण विफल पारे ।७० औं मिनेटमा विकास खवासले प्रहार गरेको लामो दुरीको फ्रिकिक आकासियो । ७१ औं मिनेटमा नेपालले दुई परिवर्तन गर्दै सेसेहाङ आङदेम्बे र रवि पासवानलाई मैदान प्रवेश गरायो । सेसेहाङ दर्शनको स्थानमा र रवि अन्जनको स्थानमा मैदान प्रवेश गरेका थिए ।
इन्ज्युरी समयको पहिलो मिनेटमा रजिन धिमालको फ्रिकिकलाई कप्तान जमालले क्लियर गर्दै खेल बराबरीमा नै राखे । इन्ज्युरी समयको दोस्रो मिनेटमा रजिन धिमालको क्रसमा नवयुग श्रेष्ठको हेडर पोस्टमा लागेर फर्कंदा नेपाल अन्त्तिम समयमा जित दर्ता गर्नबाट बन्चित भयो ।यस नतिजासँगै सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । पहिलो खेल २–० ले जितेको बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधि घरेलु मैदानमा राख्न सफल रहयो ।

यसैगरी, मिडफिल्डर सेसेहाङ आङदेम्बेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । बंगलादेशविरुद्ध सिरिजको दोस्रो खेलको ७२ औं मिनेटमा दर्शन गुरुङको स्थानमा उनले मैदान प्रवेश गरेका हुन् । ए डिभिजन लिगमा आर्मीको मिडफिल्ड सम्हालेका सेसेहाङल सेन्टर मिडफिल्डमा खेल्ने गर्छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा टोलीमा रहेका उनले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेका छन् । एन्फा एकेडेमीका उत्पादन उनले नियमित आर्मीमा सिनियर फुटबल खेल्दै आएका छन् । सेसेहाङले उमेर समूहमा नेपालको सबै टोलीबाट खेलेका छन् । उनी साफ यू–१८ च्याम्पियनसिप विजेता टोलीका समेत सदस्य थिए । पछिल्लो केहि वर्षयता उनी आर्मीको मिडफिल्डमा पहिलो रोजाइका खेलाडी बनेका छन् ।
यस्तै, मिडफिल्डर पुजन उपरकोटीले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि डेब्यु गरेका छन् । बंगलादेशविरुद्ध सिरिजको दोस्रो खेलको दोस्रो हाफमा उनले डेब्युको अवसर पाएका हुन् ।दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै पुजनले राष्ट्रिय टोलीमा पहिलो खेलको अवसर प्राप्त गरे । मनाङ मर्स्याङ्दी क्लबको मिडफिल्डबाट खेल्दै आएका पुजनले उमेर समूहमा यू२३ राष्ट्रिय टोलीबाट पनि खेलेका छन् । राष्ट्रिय टोलीमा उनी पहिलो पटक परेका हुन् ।मनाङको मिडफिल्ड सम्हाल्दै आएका पुजनले झापा–११ बाट आफ्नो करिअर सुरु गरेका थिए । उनले च्यासलबाट बि डिभिजन खेलेपछि मनाङको यात्रा तय गरेका थिए । यू(२३ उमेर समूहमा पनि उनले नेपालको प्रतिनिधित्व गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *