२०२० वल्र्ड भर्चुअल तेक्वान्दोमा नेप्लिज तेक्वान्दोलाई ४ स्वर्ण


काठमाडौं,४ कार्तिक । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् ।भिजन तामाङले पुरुष १२ वर्षमा स्वर्ण जिते । महेश आङथुप्पाले दोश्रो स्थानमा चित्त बुझाए । युएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगिताको पुरुष १५ वर्षमुनि विवेक श्रेष्ठले पहिलो स्थान हात पारे । महिलामा मेलिना राईले शीर्ष स्थान हात पारिन् । प्रगति कुइकेल दोश्रो भइन् ।पुरुष १४ वर्षमा प्रजुन कुइकेल पहिलो भए । आयुश ढुंगेल दोश्रो भए ।एनटीएबाट ९ खेलाडी सहभागी भएकोमा ७ जनाले पदक जिते भने बाँकी २ पदकविहीन रहे । सबै खेलाडीले पुम्सेको जुनियरतर्फ प्रतिस्पर्धा गरेका थिए । आयुश बोहरा र प्रशन्न पुडासैनी दुवैले यु–१७ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए ।प्रतियोगितामा एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अक्टोबर १७ र १८ तारिखमा भएको प्रतियोगितामा एसियाली महादेशबाटै निर्णायकको भूमिका निर्वाह गर्ने खड्का एक्लो निर्णायक भएको बताइएको छ ।प्रतियोगितामा सहभागी एनटीएका सबै खेलाडीको दर्ता शुल्क पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव रिक्की सिनले प्रायोजन गरेका थिए । प्रतियोगितामा सहभागी हुन एक खेलाडीको दर्ता शुल्क १ सय अमेरिकन डलर राखिएको थियो ।
यसैगरी, राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सिता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सितालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले १ लाख २५ हजार रुपैयाँ आर्थिक उपलब्ध गराइएको हो । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीता उपचाररत अस्पाताल ट्रमा सेन्टरमा गइ सो रकम बराबरको चेक हस्तान्तरण गरे ।यसअघि नेपाल ब्याडमिन्टन संघले उनको उपचारको सहयोगको लागि शुक्रबार ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । सीतालाई आइतबार डिस्चार्ज गरिएको छ । ट्रमा सेन्टरमा डाक्टर सरोज राईसहितको टोलीले गत बिहीबार उनको घुँडाको सफल शल्यक्रिया गरेको थियो ।८ असोजमा प्रशिक्षण दौरान लडेर उनको घुँडामा चोट लागेको थियो । चोट लागेको तीन सातापछि शल्यक्रिया भएको हो । घुँडाको एसिएल टियर भएको थियो । गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलुकद (साग) सिता सम्मिलित टोलीले टिम इभेन्ट्समा कास्य पदक जितेको थियो ।यसअघि असोज तेस्रो तथा राष्ट्रिय खेलाडी कल्याणकारी कोषले एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी स्वर्गिय रविनकुमार राईको परिवारलाई १ लाख, बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरेको थियो । कल्याणकारी कोष २०६८ सालमा समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो । कोषले जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *