काठमाडौं, ४ कातिक । अभिनेत्री केकी अधिकारी अहिलेसम्म एक दर्जन बढी ब्रान्डको ब्रान्ड एम्बास्डर भइसकेकी छिन । अभिनेत्री अधिकारीले ब्रान्डसँग जोडिँदा कलाकारलाई आर्थिक रुपमा ठूलो सहयोग पुग्ने बताएकी छन् । अहिलेसम्म एक दर्जन बढी ब्रान्डको ब्रान्ड एम्बास्डर भइसकेकी उनले नेपालको मार्केट अनुसार ब्रान्डमा जोडिए बापत पाउने पारिश्रमिक लोभलाग्दो रहेको बताइन् । तर, मानिसको स्वास्थ्यलाई असर पुग्ने ब्रान्डसँग भने जोडिनु राम्रो नहुने उनको कथन छ ।
शनिवार एक वर्षका लागि ‘अनार चामल’ को ब्रान्ड एम्बास्डरमा नियुक्त भएकी उनले चामल मानिसको जीवनमा पहिलो प्राथमिकतामा पर्ने भएकाले राम्रो चामलको प्रयोग गर्न सुझाव दिएकी छन् । ‘अनार चामल’ प्रयोग गरेपछि ब्रान्ड एम्बास्डरमा नियुक्त भएको बताउँदै उनले भनिन्, ‘फुडमा सही निर्णय लिनु पर्छ । हामीले जीवनलाई अगाडि बढाउने भन्ने फुडले निर्भर गर्छ ।’केकी ‘अनार चामल’ को ब्रान्ड एम्बास्डरमा तेस्रो पटक नियुक्त भएकी हुन् । यसपटक यो ब्रान्डसँग गायक तथा फिल्म ‘परदेशी २’ बाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका प्रकाश सपुत पनि जोडिएका छन् । चामलको स्वाद मन परेपछि ब्रान्ड एम्बास्डरमा नियुक्त भएको उनले बताए । प्रकाश र केकीले केही म्यूजिक भिडियोसँगै फिल्म ‘परदेशी २’ पनि एकसाथ काम गरेका छन् । अब केकी र प्रकाशले एक वर्षसम्म ‘अनार चामल’ को विज्ञापनदेखि विभिन्न कार्यक्रममा सहभागिता जनाउनु पर्नेछ । शान्भी इन्टरनेशनल ग्रुपका अध्यक्ष भरत चलाउनेले केकी र प्रकाश जस्ता चर्चित कलाकारको साथले एक वर्षमा ‘अनार चामल’ हरेक नेपालीको भान्सामा पाक्ने विश्वास व्यक्त गरे । यो चामलको बजार व्यवस्थापन भने गायिका अनिता चलाउनेले जिम्मा लिएकी छन् ।
यसैगरी,अहिलेका चल्तीका अभिनेता प्रदीप खड्का र फिल्म ‘प्रेमगीत ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी कृष्टिना गुरुङ प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएका छन् । बैंकले उनीहरुलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा नियुक्ति गरेको हो । बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले सोमबार प्रभु बैंकको मुख्य कार्यालय अनामनगरमा प्रदीप र क्रिस्टिनासँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली फिल्मका दुई लोकप्रिय कलाकारसँग सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् । प्रदीप र क्रिस्टिनाले फिल्म ‘प्रेमगीत ३’ मा एकसाथ स्क्रिन साझेदारी गरेका छन् । तर, कोरोनाका कारण यो फिल्म प्रदर्शनमा आउन सकेको छैन । उनीहरुले देशको प्रतिष्ठित बैंकको ‘ब्रान्ड एम्बास्डर’ को जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरेका छन् ।
यस्तै, नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही कमल सुनचाँदी दुकानको ब्रान्ड एम्वासडर नियुक्त भएकी छिन् । कप्तान अरुणाले कमल सुनचाँदी दुकानसँग एक वर्षको लागि सम्झौता गरेका हुन् । म्याग्दीको सदरमुकाम बेनी र कास्की पोखराको न्युरोडमा रहेको सुनचाँदी दुकानका सञ्चालक कमल विश्वकर्मा र कप्तान अरुणा शाहीबीच एक वर्षको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सञ्चालक विश्वकर्माले महिला राष्ट्रिय टोलीको नेतृत्व गरिरहेका अरुणामा आफ्नो कम्पनीको ब्रान्ड एम्वासडर बनाउन पाँउदा खुशी लागेको र यो कार्यले आफ्नो उत्पादनले पनि बजार लिनेमा विश्वस्त रहेको बताएका छन् । कप्तान अरुणाले यो एक वर्षको अवधिमा आफुले भ्याएसम्म कम्पनीको उत्पादनको सक्दो प्रचार प्रसार गर्ने बताइन् ।सन् २०१४ मा काठमाडौंमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेयता उनी टोलीको महत्वपुर्ण सदस्य रहँदै आएकी छिन् । २०१९ मा राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएकी अरुणाकै कप्तानीमा नेपाली महिला भलिबल टोली बंगलादेशमा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलि च्याम्पियनसिपमा स्वर्ण तथा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजतपदक जित्न सफल भएको थियो ।