फिल्म हल खुल्नासाथ ‘श्री’ प्रदर्शनमा आउने


काठमाण्डौ, १ कार्तिक । फिल्म ‘श्री’ हल खुल्नासाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ । ‘भैरे’ फेम्ड निर्देशक एभरेष्ट सूर्य बोहराले ७२ घण्टामा २ घण्टा लामो फिल्म तयार पारेका छन् । कोरोना भाइरसको महामारीका कारण विगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर निर्देशक बोहराले फिल्म तयार गरेका हुन् । बिहीवार निर्देशक बोहराको जन्मदिनमा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको पोस्टरमा सन्दिप क्षेत्री, रविन्द्र झा, बर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेललगायतका कलाकार फिचर छन् । बसुन्धरा भुसाल, भोलाराज सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीको पनि अभिनय रहेको फिल्मलाई श्री पराजुली र सविता गुरुङले निर्माण गरेका हुन् । एभरेष्ट सूर्य बोहरा फिल्मस्, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको सह(निर्मातामा यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम रहेका छन् । कोरोना भाइरसका कारण सात महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रलाई चलायनमान बनाउने उद्देश्यले ‘श्री’ निर्माण गरेको निर्देशक बोहराले जानकारी दिए ।
फिल्म निर्माणका साथै समाजसेवामा समेत सक्रिय निर्देशक बोहराले ‘श्री’ लाई समाजिक कार्यकै रुपमा लिएका छन् । फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई शिवम् अधिकारीले सघाएका छन् । शेरबहादुर तामाङको छायांकन, सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउण्ड स्कोर रहेको छ ।
यसैगरी, म्यूजिक भिडियोको दुनियाँमा आफ्नो बेग्लै पहिचान बनाएका मोडलहरुको फिल्मप्रति आकर्षण बढिरहेको अवस्थामा म्यूजिक भिडियोबाट फिल्म निर्देशनमा फड्को मार्नेको संख्यामा पनि वृद्धि भइरहेको छ । भुषण दाहाल, स्वर्गीय आलोक नेम्वाङ, निकेश खड्का, सुव्रत आचार्यलगायतले म्यूजिक भिडियोमा आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरेपछि फिल्म निर्देशन गरेका थिए । अब विधान कार्कीले पनि फिल्म निर्देशन गर्ने भएका छन् । उनी अहिलेका व्यस्त म्यूजिक भिडियो निर्देशक हुन् । लकडाउनपछि मात्र एक दर्जन बढी भिडियोको निर्देशन गरेका उनी आउँदो वर्षको बैशाखमा फिल्म निर्माण गर्ने तयारीमा छन् । अहिले फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको उनले बताए । सामाजिक विषयवस्तुमा बन्ने फिल्मका लागि कलाकार छनौट भने भएका छैनन् । विधानका अनुसार, फिल्मले बाबु र छोराको भावनात्मक सम्बन्धको कथा भन्नेछ । फिल्मको स्क्रिप्ट लक भइसकेको उनले बताए । म्यूजिक भिडियोबाट दर्शकको आफूप्रति अपेक्षा बढेका कारण फिल्मलाई पनि उत्कृष्ट बनाउन मेहनत गर्ने उनी बताउँछन् । दश वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा आबद्ध भएका कारण त्यो अनुभवलाई समेटेर फिल्म निर्देशन गर्न लागेको उनको भनाई छ ।
अमेरिकाको नेप्सिने कम्पनीका नेपाल प्रमुख समेत रहेका विधान कार्कीले १ करोड १५ लाखमा गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’ को विदेश राइट्स खरिद गरेका थिए । तर, फिल्म प्रदर्शन भए लगत्तै संसार कोरोनाको महामारीले थलियो । जसका कारण यो फिल्म विदेशमा प्रदर्शन हुन सकेन । अब विदेशमा फिल्म प्रदर्शन हुने सम्भावना न्यून रहेको विधान बताउँछन् ।त्यसो भए १ करोड १५ लाख बालुवामा पानी खन्याए झैँ भएको हो ? फिल्मीखबरको प्रश्नमा उनले भने( ‘कोरोनाले फिल्ममा गरेको लगानी बालुवामा पानी खन्याए जस्तै भएको छ । तर, कुनै भवितव्य आयो भने केही रकम फिर्ता गर्ने सर्तमा सिताराम कट्टेलजीसँग सम्झौता भएको थियो । पैसा फिर्ता गर्न उहाँ सकारात्मक हुनुहुन्छ । अब कति पैसा फिर्ता आउँछ त्यो चाहिँ थाहा छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *