अभिनेत्री ऋचा शर्माद्वारा गृहमन्त्रीको विरोध गर्दै प्रधानमन्त्रीलाई पत्र


काठमाण्डौ, २५ असोज । अभिनेत्री ऋचा शर्माले बलात्कारको घटनाको बारेमा चिन्ता लिएकी छिन । शर्माले गृहमन्त्री रामबहादुर थापाको गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरेकी छन् । गृहमन्त्री थापाले बलात्कार र हिंसाको सन्दर्भमा अन्य देशहरुको अवस्था गर्दा नेपाल धेरै चिन्तित हुनुपर्ने स्थितिमा नभएको र बलात्कारको घटनामा नेपाल ‘सायद टप १५ भित्र’ पर्ने हल्का टिप्पणी गरेका थिए । उनको यो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो । अभिनेत्री शर्माले पनि गृहमन्त्री थापाको गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरेकी थिइन् । गृहमन्त्रीले अन्य देशको तुलनामा बलात्कारको घटनालाई लिएर नेपाल चिन्तित हुनुपर्ने अवस्थामा नभएको भन्दै गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँडेका छन् । उनले बलात्कारका घटनालाई लिएर हल्का टिप्पणी गर्ने वर्तमान गृहमन्त्री, अघिल्ला गृहमन्त्री र विभिन्न राजनीतिक व्यक्तिको भविष्यमा लेखाजोखा हुने बताएकी थिइन् ।
नेपालमा दैनिक ७ जना बलात्कृत हुने गरेको तथ्यांकले देखाउँछ । पछिल्लो समय नाबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेको छ । केही दिन अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खबरले हरेक नेपालीलाई स्तब्ध बनाएको छ । निर्मला पन्त, संगीता मण्डललगायत धेरै किशोरीको बलात्कारपछि हत्याका दोषी पत्ता लाग्न सकेका छैनन् ।
नेपालमा दैनिकजसो बलात्कारका घटना हुँदै आएका छन् । कोरोना महामारीको समयमा पनि मुलुकका विभिन्न स्थानमा बलात्कार तथा हत्याका घटना श्रृखलावद्धरुपमा भइरहँँदा आम मानिस त्रासमा बाँचिरहेका छन् ।

यसैबीच, अभिनेत्री शर्माले देशमा बढिरहेको बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेकी छन् । उनले हिजोआज आफू नारी भएकोमा लाज लाग्न थालेको चिठ्ठीमा उल्लेख गरेकी छन् ।
बिहीवार ऋचा शर्माले फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको चिठ्ठी यस्तो छ ः
आदरणीय प्रधानमन्त्री ज्यू,
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ । ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ । मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुँला कि भन्ने डर लाग्न थालेको छ ।
मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पिर पर्न थालेको छ । दिनहुँ स(साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।
जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झैँ लाग्छ । हामी टेक्नोलोजीले चाहिँ विकसित भयौं तर अफसोस सोचले अझै पिछडिएका छौं ।
यहाँ बालिकाहरुलाई समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं । जनताको नभए पनि एकचोटी परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस् की यो देशमा उनीहरु सुरक्षित छन् ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदैछन् । बाँकी तपाईंहरु बुझ्झकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *