सन्दीप विश्वका चर्चित विदेशी लिगमा पहिलो रोजाईमा पर्दै

काठमाडौं, १८ असोज । नेपाली लेग स्पिनर सन्दीप लामिछाने विश्वका चर्चित विदेशी लिगमा पहिलो रोजाईमा पर्दै राम्रो पारिश्रमिक पाउनुको साथैं प्रर्दशन गर्दै आएका छन् । सन् २०१८ मा नेपाली लेग स्पिनर लामिछानेलाई दिल्ली क्यापिटल्सले ३२ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । लगातार तेस्रो सिजन सन्दीपले दिल्लीबाट खेलि रहेका छन् । सन्दीप नेपाली क्रिकेटबाट आइपिएल खेल्ने पहिलो खेलाडी बने । आइपिएल पछि सन्दीपले क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, बिग ब्यास लिग, क्यानडा टि२०, टि टेन लगायतका लिग खेलेका छन । इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै लोकप्रिय र सर्वाधिक धनराशी भएको फ्रेन्चाइज टि२० क्रिकेट प्रतियोगिता हो । सन् २००८ देखि सुरु भएको आइपिएलको १३ औं संस्करण संयुक्त अरव इमिरेट्स यूएईको आबूधाबी, दुबई र शारजाहमा जारी छ । आइपिएल त्यस्तो लिग हो जहाँ कुनैपनि खेलाडी एक रातमै करोडको मालिक हुने गर्दछन् । सडकका खेलाडी महलमा पुग्दछन् । क्षमता भएको जो कोही खेलाडीले आइपिएल खेल्न सक्छन् । विश्वका प्राय सबै चर्चित खेलाडीको आइपिएल खेल्ने सपना हुन्छ । आइपिएलबाट खेलाडीले नाम र दाम दुबै राम्रो प्राप्त गर्दछन् ।
विश्व क्रिकेट जगतमा मौका पाए नेपाली मात्र नभएर एसोसिएट टोलीका खेलाडीले पनि उत्कृष्ट प्रर्दशन गर्न सक्छन् भन्ने सन्दीपले राम्रो सन्देश दिएका छन् । सन्दीपसँगै, पूर्व कप्तान पारस खड्का र तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीले पनि विदेशी फ्रेन्चाइज लिग खेलि सकेका छन् ।सन्दीपले निरन्तर विश्वका प्रख्यात फ्रेन्चाइज लिग खेल्दै उच्च प्रर्दशन गर्दै आएका छन् । यसले अन्य नेपाली खेलाडीलाई विदेशी लिग खेल्न सहज बन्दै गएको छ । सन्दीपले विदशी लिगको अनुभव नेपाली क्रिकेटमा बाँड्दै आएका छन् । जुन नेपाली क्रिकेटका लागि फाइदाको कुरा हो । पछिल्लो समय नेपाली क्रिकेट युवा खेलाडीमा बढि केन्द्रित छ ।
युवा खेलाडीले राम्रो सम्भावना र आशा देखाएका छन् । सन्दीपसँगै खेल्दा आफूले पनि विदेशी लिग खेल्न सक्ने आत्माविश्वास बढ्दै गएको छ । सन्दीपले खेल्न सक्छन् भने हामी किन सक्दैनौ भन्ने भावनाको विकाश हुँदै गएको छ । जुन नेपाली क्रिकेटका लागि राम्रो पक्ष हो ।नेपाली खेलाडीहरुको प्रर्दशन, क्षमता र सम्भावनालाई हेर्दा आगमी दिनमा विश्वका चर्चित फ्रेन्चाइज लिगहरु अन्य नेपाली खेलाडीहरुले पनि खेल्ने सम्भावना देखिन्छ । हालसम्म नेपाली राष्ट्रिय, घरेलु क्रिकेटको प्रर्दशन र खेलाडीको क्षमता हेर्दा यी तीन नेपाली खेलाडीले आइपिएल खेल्ने सक्छन् ।
बायाँ हाते सुशन भारी नेपाली क्रिकेटमा राम्रो प्रर्दशन गर्दै आएका युवा स्पिनर हुन् । २५ वर्षिय सुशनले घरेलु र राष्ट्रिय टोली दुबैबाट उच्च प्रर्दशन गर्दै आएका छन् । सुशनले एकपछि अर्को राम्रो प्रर्दशन गर्दै आएका छन् ।गत माघमा भएको आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका थिए । सुशनले ओमान र अमेरिकाविरुद्ध ३–३ विकेट लिएका थिए । दोस्रो खेलमा ओमनविरुद्ध १ र अमेरिकाविरुद्ध ४ विकेट लिएका थिए । अमेरिकालाई ३५ रनमा अल आउट गर्न सुशनले ३ ओभरमा १ मेडन सहित ५ रन खर्चेर ४ विकेट लिएका थिए । उक्त त्रिकोणात्मक सिरिजमा समान ४ खेलमा सन्दीपले ८ सुशनले ११ विकेट लिएका थिए ।
सुशनको इकोनमी ३.३९ र सन्दीपको ४.२५ थियो । यसले सुशनको क्षमता आफैं पष्ट हुन्छ । आइपिएलमा ब्याट्सम्यानले भन्दा बलरले मौका पाउने सम्भावना बढी हुन्छ । सुशनले आगमी दिनमा अझ उत्कृष्ट प्रर्दशन गर्दै गएको खण्डमा अन्य विदेशी लिग हुँदै आइपिएल सम्म पुग्न सक्छन् । जसको लागि अन्तर्राष्ट्रिय क्रिकेटरमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्न भने आवश्यक पर्दछ ।
तीब्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी आइपिएल खेल्न सक्ने बलियो सम्भावना बोकेका अर्का नेपाली खेलाडी हुन् । नेपाली क्रिकेटका प्रमुख हतियार सोमपालले पहिलो विदेशी लिगको रुपमा टि२० ग्लोबल क्यानडा २०१९ विनिपेग हक्सबाट खेलेका थिए । उक्तक्रममा सोमपालले एक खेल खेल्ने मौका पाएका थिए ।
सोमपालले टोलीलाई ब्याट र बल दुवैमा योगदान दिन सक्छन् । सोमपालले तीव्र गतिसँगै तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । नेपाललाई पहिलो टी २० विश्वकप खेलाउन देखी वान डे मान्यता दिलाउन सम्म उनको प्रर्दशन निकै महत्वपूर्ण छ ।सोमपलको नाममा टी २० क्रिकेटमा विश्व रेकर्ड समेत छ । सोमपालले सन् २०१४ मा हङकङविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रन जोडेपछि विश्व रेकर्ड कायम गरेका थिए । सोमपाल नेपालबाट ओडिआईमा पाँच विकेट लिने पहिलो बलर समेत हुन् । अलराउन्डर खेलाडी हरेक टोलीलाई निकै महत्वपूर्ण हुन्छ ।सोमपालले टोलीको आवश्यकता अनुसार ब्याटिङ गर्ने गर्दछन् । सोमपालको अर्को विषेशता भनेको बलियो आत्माविश्वास हो । नेपाली क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका सोमपालले आगमी दिनमा विभिन्न विदेशी लिग हुँदै आइपिएल खेल्न सक्ने सम्भावना देखिन्छ ।
१६ वर्षिय युवा अलराउन्डर नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् । बायाँ हाते कुशलले आक्रामक ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् । कुशलले ब्याट र बल दुबैबाट उत्कृष्ट प्रर्दशन गर्दै सहज जित दिलाउन सक्छन् ।
कुशलले गत माघमा भएको त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध डेब्यु खेलमा ५० रन जोड्दै ओडिआईमा सर्वाधिक कम उमेरमा अर्धशतक प्रहार गने विश्व कीर्तिमान रचेका थिए । कुशलले आफ्नो स्पिन बलमा विपक्षी ब्याट्सम्यानलाई घुमाउने क्षमता राख्छन् । कुशलले ओपनिङ देखि फिनिसर सम्म ब्याटिङ गर्ने गर्दछन् । कुशलको टि२० आईमा स्ट्राइक रेट १२६ को छ । बलिङमा इकोनमी ६.४४ रहेको छ ।
कुशल ओपनिङ देखि जुनसुकै भूमिकामा ब्याटिङ गर्ने गर्दछन् । आक्रामक ब्याटिङ गर्दै एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता कुशलमा छ । उनको अर्को विशेषता स्पिन बलिङ हो । कुशलले टोलीका लागि दोस्रो स्पिनरको विकल्पका रुपमा पनि खेल्न सक्छन् ।कुशलको उमेर भर्खर १६ वर्ष भएका छन् । उनको उमेर बढ्दै जादा प्रर्दशनमा अझ निखारता आउने छ । जसले गर्दा उनले आइपिएल लगायतमा अन्य लिगमा खेल्न सक्ने सम्भावना देखिन्छ । कुशलले हालसम्म जुन क्षमता र सम्भावना देखाएका छन् यसले भने आइपिएल अघि अन्य विदेशी लिगमा खेल्न सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *