भरतपुर महानगरपालिकाद्वारा क्रिकेट रङ्गशालालाई ५० लाख हस्तान्तरण

काठमाण्डौ, १५ असोज । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले मंगलबार रु ५० लाख हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण गरेका हुन । महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित रु ४ करोड मध्ये पहिलो चरणमा रु ५० लाख प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिए । उनले क्रिकेट रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजित मध्येको रकम थप्दै लगिने जनाकारी दिए । महानगरपालिका प्रमुख दाहालले फाउण्डेसनले सन्तोषजनक ढङ्गले निर्माणको काम अगाडि बढाइरहेकोमा खुशी व्यक्त गर्दै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताए । उनले रङ्गशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै सङ्घ, प्रदेश र अन्य निकायले गर्ने आर्थिक सहयोगका लागि आफूले समन्वय र सहजीकरण गरिरहेको जानकारी दिए । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा रङ्गशाला निर्माणको काम भईरहेको छ ।

यसैगरी, नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय खेलाडीको केन्द्रिय सम्झौता २०२० लाई लिएर चौतर्फी आलोचना भइरहेको छ । क्यानले राष्ट्रिय १८ पुरुष र १९ महिला खेलाडीलाई केन्द्रिय सम्झौतामा राख्दै ‘ए’, ‘बी’ र ‘सी’ ग्रेड सार्वजनिक गरेको थियो । नेपाली क्रिकेट इतिहासमा क्यानले पहिलो पटक महिला टोलीलाई पारिश्रमिक दिने एक राम्रो कदमको थालनी गरेको हो । तर राम्रो सुरुवातको चर्चा हुनुको सट्टा झनै विवादमा पर्यो । केन्द्रिय खेलाडी सम्झौता ग्रेड र पारिश्रमिक निर्धारण गर्न क्यानले बनाएको समितिका संयोजक तथा कोषाअध्यक्ष रोशनकुमार सिंहले यस विवादलाई आगमी बोर्ड बैठक मार्फत मिलाउन प्रयास गर्ने बताएका छन् ।‘ग्रेड निर्धारण र खेलाडी सम्झौतामा हामीबाट केहि कमजोरी र तल माथिको भएका होला । यो क्यानको आफ्नो घरभित्र परिवारको समस्या हो र घरको समस्या घरमै मिलाइनेछ । यो विषयमा विवाद गर्न आवश्यक छैन’, सिंहले भने ।
क्यानको अबको बोर्ड बैठकबाट अहिले देखिएका विवादमा छलफल गर्दै मिलाउन प्रयास गरिने कोषाध्यक्ष सिंहले बताए । ‘ समर्थक र शुभचिन्तकले नेपाली क्रिकेटमाथि देखाइरहेको विश्वास र आशा कहिल्यै मर्न दिदैनौं,’ उनले थपे ।क्यानले एक वर्षमा धेरै राम्रो काम गरेको दाबी गर्दै सिंहले तर, राम्रो कामको भन्दा नराम्रो काममात्र बढी चर्चा गरेको बताए । ‘क्यानका लागि सबै खेलाडी एकै हुन् । क्यानले कसैलाई पनि काखा र पाखा गरेको छैन, गर्दा पनि गर्दैन र गर्न पनि दिने छैन,’ सिंहले भने, ‘ क्रिकेट विकासकै लागि क्यानमा आएका हौं । क्रिकेट विकासबाहेक अन्य कुनै स्वार्थ छैन । हिड्ने क्रममा लड्न सकिन्छ । जुन विवाद अहिले आइरहेको छ त्यसमा आगामी बोर्ड बैठकमार्फत सुल्झाउन प्रयास गर्ने छौं ।’
खेलाडी वर्गीकरणका क्रममा सन् २०१९ मा नियमित खेल खेलेका स्पिनर ललित नारायण राजवंशीलाई सम्झौता सुचिमा नै नरहेपछि चर्को आलोचना भएको थियो । ग्रेड सार्वजनिक भएको केहि समयमै ललितलाई फोनमार्फत सिंहले गल्ति सुधार्ने बताइसकेका छन् ।
‘मैले ललितलाई फोन गरेर ग्रेडमा नाम आएन भन्दैमा नआत्तिनु भनेको थिएँ । भुलवबस उनको नाम छुट्न गएको हो । आफ्नो खेलमा ध्यान दिइराख्नु । यस विषयमा बृहत छलफल गर्दै बोर्ड बैठकमार्फत समधान गर्ने जानकारी दिएको थिए’, सिंहले भने ।
यता ललितले पनि ग्रेडमा आफ्नो नाम नपरेपछि कोषाध्यक्ष सिंहले सम्पर्क गरेको बताए । ‘सुरुमा नाम नसुन्दा म अचम्ममा परे । नियमित खेलिरहेको थिए। प्रर्दशन पनि भइरहेको थियो’, ललितले भने , ‘पछि कोषाध्यक्षले फोन गर्नुभएको थियो । हामी मिलाएर लैजान्छौं । जे भयो भयो अन्यथा नलिनु भन्नु भएको थियो’, ललितले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *