फिल्म ‘दर्पण छायाँ र ‘ए मेरो हजुरको सिक्वेल बन्ने


काठमाण्डौ,१३ असोज । सन २००१ मा निर्माण भएको फिल्म ‘दर्पण छायाँ’ को वास्तविक सिक्वेल बन्ने भएको छ । निरुता सिंह, दीलिप रायमाझी र उत्तम प्रधान मिलेर ‘दर्पण छायाँ’ को वास्तविक सिक्वेल बनाउँदैछन् । फिल्म जहाँ अन्त्य भएको थियो त्यहीबाट कथा अगाडि बढाउने गरी उत्तम प्रधानले स्क्रिप्ट तयार पारिसकेका छन् । कोरोना भाइरसको महामारी नफैलिएको भए यतिबेला फिल्मको छायांकन सुरु भइसकेको हुन्थ्यो । अब स्थिति सामान्य भएपछि फिल्मको निर्माण हुने निरुताले जानकारी दिएकी छन् । तुलसी घिमिरेले निर्देशन गरेका अब्बल फिल्ममध्ये एक हो, ‘दर्पण छायाँ’ मा निरुता सिंह, दीलिप रायमाझी र उत्तम प्रधानको प्रमुख भूमिका थियो । मित्रता, प्रेम र बलिदानको कथामा बनेको यो फिल्म आजका दिनमा पनि दर्शकको मनमा बसेको छ । निरुता, दीलिप र उत्तमसँगै नेपाली फिल्म क्षेत्रका लागि यो फिल्म कोशेढुंगा सावित भएको थियो । नाम नै ब्रान्ड बनेको ‘दर्पण छायाँ’ को नेम सिक्वेल समेत निर्माण भइसकेको छ । तुलसी घिमिरेले नै निर्देशन गरेको फिल्ममा पुष्प खड्का र सहारा कार्कीको मुख्य भूमिका थियो । तर, फिल्मले ‘दर्पण छायाँ’ को साख जोगाउन सकेन । कमजोर कथावस्तु र प्रस्तुतिका कारण दर्शकले फिल्म रुचाएनन् । कतिपयले फिल्म असफल हुनुलाई पुराना कलाकार नदोहोरिनुलाई मानेका छन् । उनले फिल्मको स्क्रिप्ट तयार भइसकेको र एकदमै राम्रो रहेको बताएकी छन् । उनी भन्छिन्, ‘तुलसी सरले पनि स्क्रिप्ट पढिसक्नुभएको छ । स्क्रिप्ट एकदमै राम्रो छ । हामी फिल्म गर्न निकै उत्साहित छौं । फिल्ममा म, उत्तम र दीलिप नै हुनेछौं । उत्तमजीले कथा अनुसार फिल्मको नाम ‘दर्पण छायाँ पछि’ राख्नुभएको छ ।’ फिल्मलाई तुलसी घिमिरेले नै निर्देशन गर्नेछन् ।
यसैगरी, कोरोनाको संक्रमणबाट बच्न सरकारले देश लकडाउन गरेपछि अधुरैमा छायांकन रोकिएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ मा अहिलेका चर्चित गायक तथा मोडल दुर्गेश थापाको प्रवेश भएको छ । आइतवार निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले उनीसँग गायक र कलाकारको रुपमा सम्झौता गरेका हुन् । गायक थापाको फिल्ममा अभिनयसँगै एक गीतमा आवाज रहने निर्माता थापाले जानकारी दिए । तर, फिल्ममा दुर्गेशले निर्वाह गर्न लागेको भूमिका भने खुलाइएको छैन । कथाको माग अनुसार फिल्ममा उनलाई अनुबन्ध गरेको निर्माता थापाको भनाई छ । दुर्गेशले गाउने गीत केही दिनमा रेकर्डिङ हुनेछ । उनले ‘ए मेरो हजुर ४’ मा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेसँगका केही तस्विर शेयर गर्दै लेखेका छन्, ‘म पनि ‘ए मेरो हजुर ४’ मा जोडिएको खबर सुनाउन पाउँदा निकै खुसी छु । यो प्रोजेक्टमा जोडिने अवसर दिनुभएकोमा सुनिल थापा दाई, झरना थापा दिदी र रामजी लामिछाने दाईप्रति आभारी छु ।’कोरोनाको महामारी अन्त्य भएपछि ‘ए मेरो हजुर ४’ को बाँकी छायांकन सुरु हुनेछ । यो फिल्मलाई यसै वर्षको दशैंमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो । तर, कोरोनाका कारण फिल्मको छायांकन समेत पूरा हुन सकेको छैन । अनमोल र सुहानाले दोस्रो पटक स्क्रिन शेयर गरेका कारण दर्शकहरु यो फिल्मको व्यग्र प्रतिक्षामा छन् । फिल्ममा सलोन बस्नेतको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *