काठमाडौँ, मोरङ, चितवन र सुर्खेतमा कोरोना सङ्क्रमणको दर उच्च, पिसिआर परीक्षणको रिर्पोट सम्बन्धित व्यक्तिलाई दिन निर्देशन

काठमाडौँ, १२ असोज । काठमाडौँ, मोरङ, चितवन र सुर्खेतमा कोरोना सङ्क्रमणको दर उच्च देखिएको छ । नेपालमा ९ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा ७३ हजार ३९४ जना सङ्क्रमित भएका छन् । उनीहरुमध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिर्पोटसम्बन्धित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भए पनि सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन दिएको बताएका छन ।
यसअघि प्रयोगशालाले रिर्पोट नेगेटिभ आएको खण्डमा सम्बन्धित व्यक्तिलाई र पोजेटिभ आएमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई दिँदै आएका थिए । यसरी महाशाखालाई प्रयोगशालाले जानकारी गराएको आधारमा महाशाखाले पोजेटिभ देखिएका व्यक्तिलाई सङ्क्रमण भएको जानकारी दिने गर्दथ्यो ।
“पहिलो पोजेटिभ आएका सङ्क्रमितलाई स्वास्थ्य संस्थामा राख्ने व्यवस्था गरेका थियौँ । अहिले आएर होम आइसोलेसनमा पनि राख्न सकिने व्यवस्था गरेका छौँ,” उनले भने, “धेरै सङ्क्रमित घरमै बसिरहेका छन् । त्यसैले अब घरमा आइसोलेसनमा बस्ने सबैलाई प्रयोगशालाले आफै जानकारी गराउने छन् ।” मन्त्रालयले पोजेटिभ रिर्पोट आएकालाई उपचारका लागि महाशाखालाई जानकारी गराउन भनेको थियो ।
यसैगरी, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०४ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित सङ्ख्या तीन हजार ७७७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा हालसम्म ६८ हजार ८३ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये हालसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई हजार ६८९ जना निको भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५५ जना रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८१ कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्या अनुसार यो सबैभन्दा बढी छ । थपिएका सङ्क्रमितमा ६५ महिला र ११६ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अुनसार मोरङमा १६७, सुनसरीमा सात, झापामा तीन, भोजपुरमा दुई, तेह्रथुम र प्रदेश बाहिरका एकएक जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ४३६ पुगेको छ भने इलाम अस्पताल आइसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट तीन, मारवाडी सेवा सदन आइसोलेसनबाट दुई जना गरी ३६ जनासहित अहिलेसम्ममा दुई हजार ८२५ उपचार पछि घर फर्किसकेका छन् । गएको सो अवधिमा ९६७ जनासहित अहिलेसम्ममा एक लाख २० हजार ९९० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *