बिभिन्न स्थानबाट ३१ जना फरार अभियुक्त पक्राउ

 

काठमाडौँ, ९ असोज । सप्तरी, कर्णाली प्रदेश र बागलुङबाट प्रहरीले विभिन्न मुद्धामा फरार रहेका ३१ जनालाई पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भएपछि फरार रहेकालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । घरमै लुकिछिपी बसिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरी बिहीबार जिल्ला अदालतमा उपस्थित गराएको प्रनाउ भारतीले बताए । पक्राउ पर्नेमा कुटपिट अङ्गभङ्ग मुद्धाका फरार राजविराज नपा–९ का शुबंस साह र उनकी श्रीमती लिलावती साह छन् । कुटपिट मुद्धामा राजविराज–१ का ४५ वर्षीय शंकरकुमार यादव र उनका भाइ ३५ वर्षीय लक्ष्मण यादव पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउपर्नेमा कुटपिट मुद्धामा फरार राजविराज–१ का ९८ वर्षीय उतिमलाल यादव समेत छन् । ज्यान मार्ने उद्योग र कुटपिट मुद्धामा राजविराज–९ का ७६ वर्षीय झौली नुनिया पक्राउ परेका छन् ।
यसैगरी कुटपिट मुद्धामा राजविराज–१ का शत्रुधन यादव, सोही वडाका ३० वर्षीय लक्ष्मी यादव, राजविराज–९ का ४४ वर्षीय गुलाबलाल दास, सोही वडाका ४५ वर्षीय जुक्ति यादव र ६६ वर्षीय सुबी यादव रहेको प्रहरीले जनाएको छ । लुटपिट मुद्धामा राजविराज–१ का ७५ वर्षीय गोसाई यादव, केही सार्वजनिक अपराध मुद्धामा राजविराज–१ का ४८ वर्षीय बडेलाल यादव र जालसाजी मुद्धामा राजविराज–६ का ५६ वर्षीय झबर यादव पक्राउ परेको प्रनाउ भारतीले बताए ।
यसैगरी,
कर्णाली प्रदेश प्रहरी कार्यालयले १६ फरार प्रतिवादी पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सार्वजनिक अपराधका सात, खोटाचलन, बहुविवाह, अंश मुद्धाका एक÷एक र चेक अनादरका तीन जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय दैलेखबाट कर्तव्य ज्यान मुद्धाका एक र जबरजस्ती करणी मुद्धाका एक जनालाई पक्राउ गरिएको उनले बताए । प्रवक्ता बाँस्तोलाका अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाबाट पनि एक जना सार्वजनिक मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । “अदालतको फैसला कार्यान्वयनका क्रममा फरार अभियुक्तलाई फक्राउ गरी सम्बन्धित अदालतसमक्ष पेश गरिएको छ,” उनले भने, “यो अभियान निर्वाध अगाडि बढेको छ ।”
यस्तै,जिल्ला प्रहरी कार्यालय बागलुङले आज ठगी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतले विसं २०७१ असार ५ गते फैसला भई कार्यान्वयन हुन बाँकी ठगी मुद्धाका गलकोट नगरपालिका–३ हटियाका ओमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । खड्काबाट ठगी मुद्धामा दुई वर्ष तीन महिना १९ दिन कैद र रु ५५ लाख ५२ हजार १२ रकम असुली गर्न बाँकी रहेको थियो । सूचना अधिकारी रेग्मीका अनुसार जिल्ला अदालतमा बिहीबार पेश गरी कैद भुक्तानका लागि जिल्ला कारागार पठाइ सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *