निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको क्यानद्धारा निरिक्षण


काठमाडौंं, ७ असोज । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको नेपाल क्रिकेट संघ (क्यान) ले निरिक्षण गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निरिक्षण गरेको हो ।क्यानको केन्द्रिय कार्यसमिति बोर्ड बैठक आज चितवनमा बस्दै छ । त्यसअघि क्यानका पदाधिकारीले गौतम बुद्ध रंगशालाको निरिक्षण गरेका हुन् । क्यानका सचिव अशोकनाथ प्याकुरेल लगायतका पदाधिकारीहरुले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलसँगै रंगशालाको निरिक्षण गरेका थिए । धुर्मुसले रंगशाला निर्माणबारे क्यानलाई जानकारी दिएका थिए ।चितवनमा बस्न लागेको बोर्ड बैठकले वार्षिक साधरण सभा कहिले गर्ने देखि खेलाडीको नयाँ ग्रेड, पारिश्रमिक, एडिट लगायतका विषयमा छलफल हुने क्यान निकट स्रोतले जानकारी दिएको छ । क्यानले आफ्नो पहिलो वार्षिक साधरण सभा भदौमा गर्ने भनेपनि कोरोना महामारीको कारण स्थगित गरेको थियो ।
क्यानले गत माघमा नै कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रिय सदस्य दुर्गाराज पाठक र अमितविर पाण्डेको समिति गठन गर्दै पुरुष २४ र महिला १८ खेलाडीलाई ए प्लस , ए, बी र सी ग्रेडमा रहने खेलाडी नाम र पारिश्रमिक टुङ्गो लगाउन भनेको थियो । उक्त समीतिले आजको बोर्ड बैठकले आफ्नो प्रस्ताव बुझाउने छन् । जुन प्रस्तावमा निर्णय हुन सके क्यानले सन् २०२० मा महिला र पुरुष खेलाडी दुवैको ग्रेड र पारिश्रमिक सार्वजनिक गर्ने छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट पूर्ण रुपमा क्यानको प्रतिबन्ध कसरी फुकुवा गर्ने भन्ने विषयमा पनि छलफल हुने छ । गत कात्तिकमा आइसिसीले क्यानलाई २०७३ मा लगाएको प्रतिबन्ध सशर्त रुपमा फुकुवा गरेको थियो । बोर्ड बैठकमा आज एडिट देखि लिएर अन्य विभिन्न विषयमा छलफल हुने छ ।
यसैगरी, नेपाली हाँस्य क्षेत्रमा एउटा दर्विलो नाम हो, सिताराम कट्टेल । पिताले थमाएको १७ सय बोकेर कलाकार बन्न राजधानी झिरेका उनले आज जुन ‘नेम र फ्रेम’ कमाएका छन्, त्यस पछाडिको संघर्ष कहालीलाग्दो छ । दशक अगाडि हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘धुर्मुस’ को चरित्र निर्वाह गरेपछि चर्चामा आएका उनलाई २०७२ सालमा गएको भूकम्पले सामाजिक अभियान्ता बनाएको छ । बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो सन्तानको रुपमा वि.सं २०४० साल असोज ४ गते सोलुखुम्बुको नेचाबेतघारीमा जन्मिएका उनी आइतवार आफ्नो ३७औं जन्मदिन मनाउँदैछन् । डेढ वर्षदेखि चितवनमा निर्माणाधिन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा व्यस्त रहेका उनले आफ्नो सक्रियतामा तीन ठाउँमा एकिकृत बस्ती समेत निर्माण गरिसकेका छन् । भूकम्पपछि सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका सितारामले त्यसयता हाँस्य सिरियलमा अभिनय गरेका छैनन् । यद्यपि, उनले चितवनमा रंगशाला निर्माण भइरहँदा फिल्म ‘सेन्टी भाइरस’ बनाएका थिए । फिल्ममा उनी र उनकी श्रीमती कुञ्जना घिमिरे प्रमुख भूमिकामा थिए । तर, कमजोर कथावस्तु र प्रस्तुतिका कारण फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्न सकेन । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘वडा नम्बर ६ र ६ एकान ६’ मा अभिनय गरिसकेका सिताराम रंगशाला निर्माण भएपछि नयाँ फिल्म बनाउने सोचमा छन् । अहिले भने उनको तन(मन सबै क्रिकेट रंगशालामा छ । रंगशाला निर्माण गरेर सबै नेपालीको मुहारमा खुसी छर्ने सपना रहेको र त्यसका लागि आफूहरुले मिहेनत गरिरहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *