नयाँ फिल्म ‘रेड वाइन’मा पहिलो पटक पल र साम्राज्ञीको जोडी


काठमाडौं, ७ असोज । नयाँ फिल्म ‘रेड वाइन’मा पहिलो पटक अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडी रहने भएको छ । अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले सँगै फिल्म गर्ने भएका हुन । रमेश एम.के. पौडेलको नयाँ फिल्म ‘रेड वाइन’मा यो जोडी रहने भएको छ । पल र साम्राज्ञीले यस फिल्मबाट नै पहिलो पटक स्क्रिन शेयर गर्नेछन् ।पौडेलले यस अघि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरिसकेका छन् । हाल अमेरिकामा रहेका पौडेलले अमेरिकामा नै सम्पूर्ण छायांकन गरिने बताएका छन् ।लभस्टोरी फिल्म ‘रेड वाइन’ मार्फत निर्माता पौडेल निर्देशकको रूपमा आउने भएका छन् । चलचित्रमा कथा र गीत लेखन पौडेलकै रहने छ । पल र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि अभिनय गर्ने बताइएको छ । यस फिल्ममा ब्यवसायि पासांग लामा र आर्यन पौडेलको लगानी रहने छ । सह(निर्माता निरू भण्डारी हुन् । आर्यन फिल्मस् प्रोडक्शन प्रा. लि. र बोधी एच.डि. अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा तथा संवाद शबिर श्रेष्ठले तयार पारेका हुन् । कोरोनाको अवस्था हेरेर दशैँ र तिहारको बीचमा फ्लोरमा जाने तयारी रहेको बताईएको छ । फिल्ममा ८८४८ मिडियाको पनि आवद्दता रहने छ ।
यसैगरी, अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतको अभिनय रहने फिल्म ‘हिड्दा हिड्दै’को मुहुर्त गरिएको छ । सोमवार मुहुर्त गरिएको फिल्ममा यि दुई अभिनेतासँग नव नायिका रेखा शाहले अभिनय गर्दैछिन् । कोरोना भाईरसले निम्त्याएको बिश्वव्यापि महामारीका बीच त्रिकोणात्मक प्रेमकथामा बन्ने यो फिल्मको मुहुर्त भएको हो । नारायण शुसिल पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको यो फिल्मका निर्देशक मिलन आले मगर हुन् । शुसिल पंगेनीले लेखेको फिल्मका निर्माताहरु दिल लामा, राज कुमार थिंग र पारस गुरुंग हुन् । सुमन तन्डुकारको छायांकन रहने फिल्ममा बसन्त सापकोटाको संगीत रहनेछ ।
यस्तै,फिल्म निर्माण र प्रदर्शन नहुँदै त्यसको सिक्वेल घोषणा गर्ने बानी नेपाली फिल्मकर्मीहरुको पुरानै हो । मिडियामा क्षणिक चर्चामा आउन सिक्वेल घोषणा गरेर आत्मरतीमा रमाउन उनीहरुलाई अलिकता पनि हिनताबोध हुँदैन । तर, जब फिल्म हलमा पत्तासाफ हुन्छ तब सिक्वेल त टाढाको कुरा निर्माता(निर्देशकको नाक(मुख देखिन्न । नेपाली फिल्म क्षेत्रमा यस्ता उदाहरण कयैन् छन् ।निर्देशक मिलन चाम्सले पनि फिल्म ‘बोबी २’ को घोषणा गरेको लामो समय भइसकेको छ । ‘बोबी’ ले सन्तोषजनक व्यापार गरेपछि उनले सिक्वेल घोषणा गरेका थिए । तर, अहिले उनी यो फिल्मको विषयमा चुइक्क पनि बोल्दैनन् । लकडाउनभन्दा अगाडि उनले आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ घोषणा गरेका थिए । कोरोनाका कारण फिल्म फ्लोरमा जान सकेको छैन ।लकडाउन खुकुलो भएपछि निर्देशक चाम्स नयाँ फिल्मका लागि लोकेशन खोज्न विभिन्न ठाउँ पुगे । उनले कोरोनाका कारण ठप्प रहेको फिल्म क्षेत्रलाई चलायमान बनाउन सानो बजेटमा फिल्म बनाउन लागेको जानकारी दिएका थिए । तर, अहिले उनको बोली फेरिएको छ । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले ‘गोर्खा वारियर २’ का लागि लोकेशन खोज्न गएको बताएका छन् । निर्देशक चाम्सले भनेका छन्, ‘यो फिल्मको छायांकन मलेशियामा हुने हो । तर, केही भाग मलेशियाको नेपालमा चिट गरेर खिँदैछौं । त्यसैका लागि लोकेशन हेर्न गएका थियौं ।’ कोरानाका कारण ‘गोर्खा वारियर’ को छायांकन तत्काल सम्भव नभएपछि लकडाउनमा दोस्रो पार्टको स्क्रिप्ट लेखिसकेको र तेस्रो(चौथो पार्टको पनि स्क्रिप्ट तयार भइसकेको उनले बताएका छन् ।‘गोर्खा वारियर’ को चार श्रृंखलासम्म बन्ने तर सिक्वेल भने नरहेको उनी बताउँछन् । ‘गोर्खालीहरुको सयौं कथा छ । त्यसमध्येको केही कथा चार श्रृंखलामा देख्न पाइनेछ,’ चाम्सले भनेका छन् । तर, ‘गोर्खा वारियर’ नै कहिले निर्माण हुने टुंगो छैन । यो अवस्थामा फिल्मको चार श्रृंखला बनाउने उद्घोष गर्नु भनेको ‘छोरा पाउनु कहिले–कहिले, भोटो सिलाउने अहिले’ भने झैँ हो । कि कसो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *