फिल्म प्राविधिकलाई नन्दिता र राजेश हमालको आर्थिक सहयोग


काठमाण्डौ, ६ असोज । फिल्म प्राविधिकलाई अभिनेत्री नन्दिता केसी र अभिनेता राजेश हमालले आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री नन्दिता केसीको नेतृत्वमा तीस जना फिल्म प्राविधिकलाई राहत वितरण गरिएको छ । कोरोनाका कारण रोजीरोटी गुमेपछि दैनिक गुजरा चलाउन समस्या भएका प्राविधिकलाई पन्ध्र सय नगदसहित एक बोेरा चामल, तीन लिटर तेल, २ किलो चना, २ किलो चिउरा, २ किलो सोयाबिन र आधा दर्जन सावुन हस्तान्तरण गरिएको हो । नन्दिताले अमेरिकामा बस्ने फिल्मकर्मी तथा विभिन्न व्यक्तिहरुबाट संकलित रकमबाट फिल्म प्राविधिकलाई राहत वितरण गरेकी हुन् । नन्दिताकी बहिनी सजना केसी र दाई मोहन विक्रम केसीले सोमवार प्राविधिकलाई राहत वितरण गरेका हुन् । यस्तै, कीर्तिपूरमा रहेको बेबी लाइफ होममा आश्रित एचआइभी संक्रमित बालबालिकाका लागि रासन पनि वितरण गरिएको छ ।अभिनेत्री नन्दिता केसीले बाइक दुर्घटनामा परेर घाइते भएका कलाकार सन्नी रसाईलीलाई पन्ध्र हजार सहयोग पनि गरेकी छिन् । चलचित्र प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले कोरोनाका कारण कामविहीन भएपछि जीवनयापनमा समस्या भएका फिल्म प्राविधिकलाई आर्थिक र खाद्यन्न सहयोग गरेकोमा नन्दितासहित अमेरिकामा बस्ने फिल्मकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् । नन्दिताले आफूहरुलाई सुटिङ सेटमा रेखदेख गर्ने प्राविधिकहरु समस्यामा रहेको खबर पाएपछि आर्थिक संकलन गरेर राहत वितरण गरेको बताएकी छन् । उनले केही दिनमा आफ्नो जन्मथलो अर्घाखाँचीमा तीस घरपरिवारलाई खाद्यन्न प्रदान गर्दैछिन् भने राजधानीका भोका मजदुरलाई खाना पनि खुवाउँदैछिन् । उनी गत वर्ष केही महिना नेपाल बसेर अमेरिकामा फर्किएकी हुन् ।
यसैगरी, नेपाल चलचित्र प्राविधिक संघबाट ‘महानायक’ को उपाधि पाएका अभिनेता राजेश हमालले कोरोना भाइरसका कारण रोजीरोटी गुमेर दैनिक जीवनयापन गर्न समस्या भएका फिल्म प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । शनिवार डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा उनले १ सय १३ जना प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । अभिनेता राजेश हमालले विभिन्न व्यक्तिसँगको सहयोगमा प्राविधिकलाई आर्थिक सहयोग गरेका हुन् । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले १ सय १३ जना प्राविधिकलाई राजेश हमालले ५ लाख ६५ हजार सहयोग गरेको जानकारी दिए । कोरोनाका कारण जीवनयापन गर्न समस्या भएको अवस्थामा अभिनेता हमालबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले बताएका छन् ।कोरोनाका कारण सिर्जना भएको असामान्य परिस्थितिमा प्राविधिकहरुलाई ठूलो प्रभाव परेको अभिनेता हमालको भनाई छ । प्राविधिकलाई नेपाली फिल्मको मेरुदण्डको रुपमा ब्याख्या गर्दै उनले भने( ‘उहाँहरु पर्दा पछाडि देखिनु हुन्छ । हामी पर्दा अगाडि देखिएर नाम कमाउँछौं । तर, त्यस पछाडिको जनशक्ति कसैले देख्दैन । तर, हामीले उहाँहरुकै बुइ चढेर नाम कमाउँछौं ।’उनले कोरोनाका कारण परिस्थिति अनुकूल नहुँदा आफूले चाहे जति सहयोग प्राविधिकहरुलाई गर्न नसकेको बताएका छन् । यो सहयोग ठूलो नभए पनि केही दिन जीवन चलाउन सहज हुने उनको विश्वास छ । यो आफ्नो सानो प्रयास रहेको र कोरोनाले सिर्जना गरेको स्थिति सामान्य नभएको अवस्थामा प्राविधिकहरुलाई अरु पनि सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *