‘कबड्डी कबड्डी कबड्डी’ ले उपासनालाई अभिनेत्रीको रुपमा पहिचान दियो

काठमाण्डौ, ५ असोज । ‘कबड्डी कबड्डी कबड्डी’ ले उपासना सिंह ठकुरीलाई हिटको सुखसँगै जीवन्त अभिनय गर्ने अभिनेत्रीको रुपमा पनि पहिचान दिलाएको छ । अभिनेता अनमोल केसीसँग काम गरेपछि अभिनेत्रीको करिअर कायापलट हुन्छ भन्ने एक उदाहरण हुन्, उपासना सिंह ठकुरी । फिल्म ‘क्याप्टेन’ बाट अभिनय यात्रा आरम्भ गरेकी उनी अहिलेकी डिमान्डेड अभिनेत्रीमध्ये एक हुन् । यो फिल्म बक्सअफिसमा सफल हुन नसके पनि उनको काम रुचाइएको थियो । यही कारण अहिले हरेक निर्माता–निर्देशकको रोजाईमा उनी छिन् ।
उनै, उपासनाले आइतवार आफ्नो २२औं जन्मदिन मनाईन । २०५५ साल असोज ४ गते जन्मिएकी उनलाई सुपर काजल फिल्मस्ले आफ्नो उत्पादन भन्दै जन्मदिनको शुभकामना दिएको छ । फिल्मकर्मी र दर्शकहरुले पनि सामाजिक सञ्जालमार्फत् उनलाई ‘बर्थडे विस’ गरेका छन् । आफूलाई जन्मदिनको शुभकाना दिने सबैलाई उनले इन्स्टाग्राममार्फत् धन्यवाद दिएकी छन् ।
‘क्याप्टेन’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी उनी यो फिल्म रिलिज लगत्तै सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो पार्टमा अनुबन्ध भएकी थिइन् । यो फिल्मपछि भने उनले रोकिएको अध्ययन पूरा गर्न एक वर्ष अभिनयबाट टाढा रहने उद्घोष गरिन् । उक्त फिल्म रिलिजको एक वर्ष पूरा भएको छ । दर्शकहरु उपासनाको नयाँ फिल्मको प्रतिक्षामा छन् । गएको एक वर्षमा उनलाई थुप्रै फिल्मबाट अफर भए । तर, अहिलेसम्म उनले नयाँ फिल्म साइन गरेको जानकारी प्राप्त छैन । दुई फिल्मका कारण रोकिएको अध्ययन पूरा गर्न एक वर्ष अभिनयबाट टाढा बसेकी उनलाई अझै पर्दामा हेर्न दर्शकले कहिलेसम्म प्रतिक्षा गर्नुपर्ने हो कुन्नी ?
यसैगरी, अभिनयमा आफूलाई प्रमाणित गरिसकेकी अभिनेत्री नीता ढुंगाना सोमवार आफ्नो जन्मदिन मनाएकी छिन । अघिल्ला वर्षमा आफ्नो जन्मदिनमा विशेष कार्यक्रम राख्ने गरेकी उनी यसपटक कोरोनाका कारण सामान्य रुपमा मनाउँदैछिन् । भलाद्मी अभिनेत्रीको रुपमा चिनिएकी उनलाई फिल्मकर्मी तथा दर्शकहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् ।

नीताले बाल कलाकारको रुपमा अभिनय करिअर सुरु गरेकी थिइन् । सन् २००२ मा निर्माण भएको फिल्म ‘मितिनी’ मा उनी बाल कलाकारको रुपमा थिइन् । यसपछि उनले सन् २००८ मा फिल्म ‘अजम्बरी नाता’ मा अभिनय गरिन् । उनले लिड अभिनेत्रीको रुपमा भने फिल्म ‘किसान’ बाट ब्रेक पाएकी थिइन् । अहिलेसम्म उनले तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । विवादबाट टाढै रहने नीताले दुई दशक लामो अभिनय करिअरमा थोरै मात्र सम्झनलायक फिल्ममा काम गरेकी छन् । र, एकाध फिल्मले मात्र बक्सअफिसमा नाफाको व्यापार गरेका छन् । तर, फिल्मको असफलताले उनको करिअरमा भने कहिल्यै असर गरेन । आजको समयमा उनी व्यस्त अभिनेत्रीको रुपमा गनिन्छिन् । यो हिसाबमा उनको फिल्म करिअर सुखद मान्न सकिन्छ । नीर शाह निर्देशित फिल्म ‘मसान’ लाई नीताको सम्झनलायक फिल्मको रुपमा लिने गरिन्छ । यही फिल्मबाट उनले सहायक अभिनेत्रीको रुपमा राष्ट्रिय अवार्ड समेत उचालेकी थिइन् । फिल्म ‘पञ्चायत’ मा गरेको अभिनयबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि चुमेकी उनलाई फिल्म ‘६ एकान ६’ ले दर्शकको ठूलो वर्गमा चिनाएको थियो । यो नै उनी अभिनीत पहिलो हिट फिल्म हो ।
‘नोटबुक, दबाब, निर्भय, फूलै फूलको मौसम तिमीलाई, वार, रातो टीका निधारमा, साइनो’ लगायतका फिल्ममा अभिनय गरिसकेकी उनी लकडाउनभन्दा अगाडि फिल्म ‘आकाशे खेती’ को छायांकनमा व्यस्त थिइन् । अब उनी आफैं पनि फिल्म निर्माणमा तम्सिएकी छन् । उनी फिल्म ‘माया’ बाट निर्मात्री बन्दैछिन् । यसमा उनको जोडी अभिनेता कोशिश क्षेत्रीसँग बाँधिदैछ । अभिनयसँगै लभ लाइफका कारण पनि चर्चामा छाइरहने नीता फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिजताका अभिनेता आमेष भण्डारीको प्रेममा थिइन् । तर, यो फिल्म रिलिज भएपछि उनीहरुको प्रेम सम्बन्धमा पूर्णविराम लाग्यो । गत वर्षदेखि नीताको नाम युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग जोडिएको छ । तर, उनले यो कुरालाई अफवाह बताउँदै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *