संविधान उदाहरणीय रहेको जिकिर

इलाम, ४ असोज । ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलन लडेर बनाएको संविधान उदाहरणीय रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जिकिर गरेका छन । शनिबार ‘विश्व इलामेली सम्मेलन–२०२०’ को भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले आजको दिन संविधान निर्माण भएको ऐतिहासिक दिन भएको बताए । उनले जनताले बोल्नसमेत नपाउने राजनीतिक व्यवस्थामाथि जीत हासिल गरेर लोकतन्त्र ल्याउन सफल भएको उल्लेख गरे ।
“आजभन्दा ३० वर्षअघिसम्म तत्कालीन शासकले कुण्ठित गरेको अधिकार ल्याएर हामी अहिले नयाँ व्यवस्थामा छौं”, खनालले भने । उनले सम्भावनै सम्भावनाले भरिपूर्ण इलाम ‘देशकै नमूना जिल्ला’ रहको उल्लेख गरे । चिया, अलैँची, अदुवालगायतका कृषिउपज उत्पादन हुने नेपालकै उत्कृष्ठ जिल्लामा इलाम पर्ने खनालले बताए । विगतमा विजुली, खानेपानी र सडक पूर्वाधार रहेको इलाममा अहिले भने धेरै पूर्वाधार पुगेको जनाए । “इलामका लागि गर्न बाँकी धेरै काम छन्”, खनालले भने, “यहाँ पर्यटकीयदेखि कृषिजन्य पदार्थ उत्पादनका लागि पनि उल्लेखिय काम गर्न बाँकी छ ।” बैठकमा नेकपा संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्वाङले अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने दिन गएको बताए । नेम्वाङले सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आएर जनताका प्रतिनिधिले निर्माण गरेको संविधानमा सबैका हक र अधिकार लेखिएको उल्लेख गरे ।
उनले शान्तिप्रक्रिया, २०६२÷०६३ को जनआन्दोलन गरेर लेखिएको संविधान विश्वकै उदाहरणीय रहेको बताए । नेम्वाङले संविधानले तराईदेखि हिमालसँगका जनताले आफ्नो भनेर गौरव गर्न सक्ने संविधान बनेको बताए । “दलित, जनजाति, महिलालगायत सबैको हक÷अधिकार लेखिएको संविधान बनाएका छौ”, नेम्वाङले भने, “हामीले यसैमा गौरव गर्नुपर्छ ।” अहिलेको सरकारले पनि धेरै काम गरेका कारणले पनि संविधान कार्यान्वयन प्रभावकारी ढङ्गले अघि बढेको उनले जिकिर गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *