नेपाल भलिबल संघद्वारा आफ्ना ३ राष्ट्रिय खेलाडीलाई सहयोग

काठमाडौं, २ असोज । नेपाल भलिबल संघले आफ्ना ३ राष्ट्रिय खेलाडीलाई सहयोग गरेको छ । संघले आफ्ना खेलाडीको अवस्था जानकारी लिदै पहिलो चरणमा सहयोग गरेको बताइएको छ ।संघले पहिलो चरणमा महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय सलिना श्रेष्ठ र उषा भन्डारी तथा बिच भलिबलका राजु बिकलाई सहयोग गरेको हो । काठमाडौंमै रहेका सलिना र उषालाई चामल, दाल, तेललगायत खाद्यान्न सामाग्री तथा गृह जिल्ला बागलुङमा रहेका राजुलाई नगद पठाइएको नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन् ।दक्षिणकाली नगरपालिका खहरे घर रहेकी सलिना र टोखा नगरपालिका नयाँ बसपार्क बस्दै आएकी उषालाई संघकी राहत समितिका संयोजक समेत रहेकी मास्के र सचिव तथा समितिका सह–संयोजक मनविर छन्त्यालले खेलाडीको घर पुगेर खाद्यान्न हस्तान्तरण गरेका थिए ।संघले कोरोना महामारीपछि झण्डै ६ महिनापछि राहत वितरण समिति गठन गरी पहिलोपटक राहत वितरण गरेको हो । संघले पहिलो चरणमा तीन खेलाडीलाई राहत वितरण गरेको हो ।संघले यस्तो कठिनाईका समयमा सम्झेकोमा सलिनाले धन्यवाद दिइन् । ‘मैले त यस्तो सहयोग हुन्छ भन्ने आशा गरेको थिइन,’ उनले भनिन्,’ हाम्रो बारेमा चासो लिदिनुभएको र घर सम्म आएर सहयोग गर्नुभएकोमा संघ परिवार परिवारलाई आभार व्यक्त गर्न चाहन्छु ।’आवश्यकता हेरेर भविष्यमा अन्य खेलाडीलाई पनि संघले सहयोग गर्ने विषयमा पहल गर्ने उपाध्यक्ष मास्केले बताइन् ।‘राष्ट्रिय टोलीका खेलाडीको अवस्था बुझेर खेलाडीलाई सहयोग गर्नुपर्छ भन्ने संघले ठान्यो,’ संयोजक मास्केले भनिन्, ‘हाम्रा कतिपय खेलाडी विभागमा हुनुहुन्छ । केहि खेलाडी विभागमा हुनुहुन्न । त्यसमध्ये खेलाडीलाई पहिलो चरणमा सहयोग गरेका हौं । अवस्था अनुसार अन्य खेलाडीलाई पनि सहयोग गर्ने विषयमा हामी संघमा छलफल गर्नेछौं । ’महिला टोलीले गत वर्ष दुई ठूला सफलता प्राप्त गर्दा सलिना त्यसको महत्वपूर्ण सदस्य थिइन् । लिबेरो सलिना सम्मिलित टोलीले कात्तिकमा बंगलादेशमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण र मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । उषा १३ औं सागमा रजत जित्दा टोलीमा थिइन् । राजुले १३ औं सागमा बीच भलिबलमा देशको प्रतिनिधित्व गरेका थिए ।
यसैगरी, सडक दुर्घटनामा परि घाइते भएका राष्ट्रिय टोलीका तीव्र गतिका बलर ललितसिंह भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले सहयोगको अपिल गरेको छ ।कञ्चनपुरमा गत आइतवार साँझ मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा राष्ट्रिय क्रिकेटर ललित सिँह भण्डारी घाइते भएको घटनाप्रति सिप्यानले प्रेस विज्ञप्ति जारी गर्दै स्तब्ध भएको जनाएको छ । सिप्यानले घटनास्थल देखि काठमाडौँ ल्याउन तथा उपचारमा सहयोग गर्ने अस्पताल, क्रिकेटर, शुभेच्छुकलगायत सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै भण्डारीको उपचारका लागि सम्पूर्ण सहयोग गर्न प्रतिवद्ध रहेको जनाएको छ । खेलाडीको हकहितका लागि विगतदेखि नै काम गर्दै आएको सिप्यानले भण्डारीको सहयोगका लागि सम्पूर्ण समर्थक लगायत सरोकारवाला समक्ष सिप्यानको बैंक खातामार्फत सहयोग रकम जम्मा गर्न अपिल गरेको छ । सिप्यानले संकलित सम्पूर्ण रकम घाइते भण्डारीलाई हस्तान्तरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *