कोरोना संक्रमितको संख्या ६० हजार, ३८३ जनाको मृत्यु, कोरोना संक्रमणबाट ४२ हजार ९४९ जना मुक्त

काठमाडौं, २ असोज । बिहीबार १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा ६१८ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५०७, ललितपुरका ६० र भक्तपुरका ५० जनामा छन् । यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएका छन् । देशभरीमा १६ हजार २४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १८२ जनाको आईसीयू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ६ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौं, ललितपुर, चितवन, पाल्पा, बाँके र मोरङका एकएक जनाको मृत्यु भएको हो । काठमाडौंका ८७ वषीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ललितपुरकी ६६ वर्षीया महिलाको नेपाल क्यान्सर अस्पतालमा बिहीबार मृत्यु भएको छ । कोरोना संक्रमण भएकी उनी दुई दिनअघि अस्पताल भर्ना भएकी थिइन् ।
चितवनकी ३६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तानसेन नगरपालिका(७, पाल्पाका ५२ वर्षीय पुरुषको बिहीबार मिसन अस्पतालमा मृत्यु भएको छ । मुटुसम्बन्धी रोगबाट पीडित उनी एक साता अघि बिरामी भएर मिसन अस्पताल गएका थिए । नेपालगञ्ज उपमहानगरपालिका(१, बाँकेका ४५ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार मृत्यु भएको छ । अत्याधिक ज्वरो र श्वासप्रश्वासको समस्या लिएर २९ गते नेपालगञ्ज मेडिकल कलेज पुगेका उनलाई कोरोना संक्रमण भएको बुधबार पुष्टि भएको थियो । त्यसपछि भेरी रिफर भएका थिए । कोशी अस्पतालको आइसोलेसन सेन्टरमा बुधबार राति मृत्यु भएको बिराटनगर महानगरपालिका–६, मोरङका ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या लिएर बुधबार राति ११ बजे अस्पताल भर्ना भएको उनको केही घण्टामै मृत्यु भएको थियो ।
यसैगरी, जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जना आज सङ्क्रमित भएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाई गर्ने राजविराज नगरपालिका–६ का १९ वर्षीय पुरुष सङ्क्रमित भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार दुई प्रहरी निरीक्षक, तीन प्रहरी नायब निरीक्षक, चार प्रहरी सहायक निरीक्षक, चार हवल्दार र अन्य प्रहरी सङ्क्रमित भएका हुन् । सोमा दुई महिला प्रहरी छन् ।
त्यसैगरी प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ५० जना महिला र १२१ जना पुरुष रहेका छन् । ती मध्ये मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा एक ÷एक र प्रदेश बाहिरका तीन जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरी विराटनगरमा सो अवधिमा ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये १५ जना महिला र ५० जना पुरुष छन् । यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २७१ पुगेको छ । आज ४३ जना सहित दुई हजार २३९ जना कोरोनाबाट मुक्त भइ घर फर्किसकेका मन्त्रालयले जनाएको छ । हालसम्ममा एक लाख १३ हजार २२० जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
उता, सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड—१९का सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा गत भदौ ३० गतेसम्म ६९८ जना सक्रिय सङ्क्रमित रहेकोमा दुई दिनमा १०४जना थपिएर कूल सक्रिय सङ्क्रमित ८०२ जना पुगेका छन् । कोभिड—१९बाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित ४२४ जना पुगेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण भइ सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत धनगढी उपमाहानगरपालिका—५का ५७ बर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको छ । यो सँगै प्रदेशमा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । पछिल्लो २४घण्टामा प्रदेशका कैलाली,अछाम,डोटी, र कञ्चनपुर जिल्लाका गरी थप ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कूल सङ्क्रमित छ हजार ५२८जना पुगेका छन् । कोरोना निको भई आजसम्म पाँच हजार ७१४ जना डिस्चार्ज भएका छन् । यसै बीच बैतडी जिल्ला अस्पतालमा आजवाट पिसीआरबाट कोरोना सङ्क्रमितका शङ्कास्पदको नमूना परीक्षण गर्ने प्रयोशाला सञ्चालन भएको छ । प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रयोगशालाको शुभारम्भ गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *