हालसम्म आठ लाख ७२ हजार २७४ जनाको कोरोना परीक्षण, कोभिड–१९ बाट ३७९ जनाको मृत्यु, ४२ हजार डिस्चार्ज भए

 


काठमाडौँ, १ असोज । कोभिड–१९ बाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३७९ जना पुगेको छ । कोभिड–१९ बाट ३७९ जनाको मृत्यु भएको छ भने ४२ हजार डिस्चार्ज भएका छन ।गत २४ घण्टामा एक हजार ५३९ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या जम्मा एक हजार ६८ रहेको जानकारी दिए ।
गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार ७०६ छ । संंस्थागत आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या आठ हजार ६४१ रहेको छ भने होम हाइसोलेसनमा बस्नेको सङ्ख्या सात हजार ७०१ जना छन् । “पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनामा पिसिआर परीक्षण भएको छ । हालसम्म आठ लाख ७२ हजार २७४ जनामा कोरोना परीक्षण गरिएको छ । क्वारेटिनमा रहनुभएका व्यक्तिको सङ्ख्या सात हजार ८२० रहेका छ”, प्रवक्ता गौतमले भने । प्रवक्ता गौतमले कोभिड–१९ मुक्त हुने दर ७१.५ प्रतिशत रहेको जानकारी दिए । उनका अनुसार पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिरहा, सुनसरी, मकवानपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, हुम्ला र मुगु रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या आठ रहेको छ ।
यसैगरी, कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा पुष्टि भएका ५१ जनासँगै यहाँ सङ्क्रमितको सङ्ख्या दुई हजार ९१४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुर्खेत, दैलेख र चौरजहारीका प्रयोगशालाहरुमा गरिएको पिसीआर परीक्षणका क्रममा चार विद्यार्थी, तीन सुरक्षाकर्मी, दुई निजामती कर्मचारीसहित ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज पहिचान भएकामध्ये सुर्खेतको वीरेन्द्रनगरका १३, सल्यानको बनगाड कुभिन्डे नगरपालिकाका ३३, दैलेखका दुई, जाजरकोट, रुकुम पश्चिम र उदयपुरका एक÷एक जना रहेका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कोरोना सङ्क्रमितको निको हुने दर पनि बढेको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेशनबाट गरी ३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै कर्णालीमा डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०५ पुगेको छ । हाल आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ३०३ रहेको छ । आजसम्मको तथ्याङ्क हेर्दा विश्वमा दुई कुरोड ९७ लाख ३४ हजार १०४ व्यक्तिमा कारोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये निको हुनेको सङ्ख्या दुई करोड १५ लाख ४६ हजार ४५६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *