सामाजिक सञ्जाल प्रयोगकर्ताले आँचललाई विद्वान अभिनेत्री भन्दै मजाक उडाए

काठमाण्डौ,२९ भदौ । चर्चा र विवादमा छाइरहने अभिनेत्री आँचल शर्मा केही दिनदेखि टाउकोको तौलको विषयमा दिएको जवाफका कारण ट्रोलको शिकार भएकी छन् । तर, यस विषयमा उनले कुनै प्रतिक्रिया जनाएकी छैनन् । यद्यपि, उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक पोस्ट गर्दै ‘म हाँसेको देखेर रिसाउनेलाई नि ‘लभ यू’ भनेर लेखेकी छन् । उनको यो कटाक्ष ट्रोलर्सप्रति हो वा कोही व्यक्तिप्रति, त्यो भने उनै जान्दछिन् ।
केही समय अगाडि उनले एक अन्तर्वार्तामा तराजुमा टाउको मात्र राखे टाउकोको तौल थाहा हुने भन्दै दिएको जवाफको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई विद्वान अभिनेत्री भन्दै मजाक उडाएका छन् । हुनत, यसअघि पनि आफ्नो अभिव्यक्तिलाई लिएर ट्रोल भएका कारण आँचललाई यसले खासै ठूलो असर पारेको देखिन्न ।
अभिनेत्री शर्माले दुई वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्ष विवाहमा परिणत गरिन् । आफ्नो तौल घटाउने टिप्स लिन उनी फेसबुकको माध्यमबाट उदिप श्रेष्ठसँग जोडिएकी थिइन् । अन्ततः उनै आँचलका जीवनसाथी बने । यो जोडीले गत वर्षको फागुन अन्तिममा लगनगाँठो कसेका हुन् । यसको केही दिनमा देश लकडाउन भएपछि उनीहरु हनिमुनमा निस्कन पाएका छैनन् । चैत पहिलो साताबाट लकडाउन भएपछि आँचल फुर्सदिलो भइन् । यो समयमा उनले श्रीमानको क्लिनिक गएर दिन काट्ने गरेकी थिइन् । यो क्रम अहिले पनि जारी छ । लकडाउन खुलेपछि उनले केही म्यूजिक भिडियोमा काम गरिन् । तर, कोरोनाको संक्रमण थप भयावह भएपछि राजधानीमा निषेधाज्ञा लागू गरियो । यसपछि उनको दैनिकी फेरि घर र श्रीमानको अफिसमा वितिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *