सिन्धुपाल्चोक पहिरोमा ११ जनाको मृत्यु, २० जना बेपत्ता

सिन्धुपाल्चोक, २९ भदौ । सिन्धुपाल्चोक पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन । बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिए । नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षका धनलाल विक रहेका छन् ।
मृतकमा ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षका कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरस्वती विक हुनुहुन्छ । पहिरोमा बेपत्ता भएका ३१ मध्ये २० जना बेपत्ताको उद्धारकार्य जारी छ । क्षतिको विवरण सङ्कलन भइरहेको पनि न्यौपानले जानकारी दिए ।
यसैगरी, सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएरातिको भीषण पहिरोले ठूलो मानवीय एवं भौतिक क्षति गराएको स्थलको आइतबार निरीक्षण गरेका छन । उनले पहिरोले क्षति पु¥याएको स्थानको स्थलगतरूपमा जानकारी लिए । उनले स्थानीय पहिरो पीडित र प्रभावितसँग छलफल गरे । सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्ति बढिरहेको उल्लेख गर्दै जोखिमयुक्त सूचीकृत नभएका बस्तीमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको बताए । सभामुख सापकोटाले तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने जानकारी दिँदै स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोकका भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने बताए । उनले जिल्लामा परेको विपत्तिका विषयमा विज्ञसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रूपमा बस्ने व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । उनले पहिरो पीडित र प्रभावितको सुरक्षित बसोबासका लागि आफ्नातर्फबाट सबै पहल गर्ने बताए । सभामुख सापकोटाले आजै बाढी पहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबिसेदेखि चीनसँगको सीमानाका लिपिङसम्मको स्थलगत अवलोकन गरे । सो अवसरमा उनले अरनिको राजमार्ग व्यवस्थित गर्ने र तातोपानी नाका सुचारु गर्ने विषयमा आफूले पहल गर्ने बताएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
यसैबीच सभामुख सापकोटाले भीरखर्क, नागपुजे र नेवारटोलका पहिरोमा परेर ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गरेका छन । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पहिरोमा परि ज्यान गुमाएका शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *