सिन्धुपाल्चोक र बागलुङको पहिरोमा ४ जनाको मृत्यु,२८ जना बेपत्ता


काठमाडौँ, २८ भदौ । सिन्धुपाल्चोक र बागलुङ जिल्लामा पहिरोमा परि ४ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका तीन जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्कीनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । नागपुजेमा १५ र भीरखर्कमा नौ गरी अझै २४ जना बेपत्ता छन् । उनीहरुको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेका छन् ।
सिन्धुकोटका नौ घर जोखिममा
मेलम्ची नगरपालिका–५ सिन्धुकोट गोल्पुटोलमा गएरातिको अविरल वर्षापछि आएको पहिरोको कारण बस्ती जोखिममा परेको छ । नौ घर रहेको उक्त बस्तीमा चारैतिर पहिरो आउन थालेपछि बस्नका लागि जोखिम भएको हो ।तत्काल बस्ती नसारेमा थप विपत्तिको सामना गर्नुपर्ने स्थानीय सुनिल मिजारले बताउनुभयो । त्यसैगरी सिन्धुकोटकै कमल श्रेष्ठ, चेतकुमारी राना, रामबहादुर राना, कृष्णबहादुर मिजार, डल्ली सार्की र कुमार मिजारको घर पनि जोखिममा परेको छ ।यस्त, जुगल गाउँपालिकाको चनौटेमा पाँच घर पहिरोमा परेको छ । दुई घर पूर्णरूपमा पुरिएको छ भने तीन घरमा क्षति पुगेको छ । एक जना घाइते भएको गाउँपालिका उपप्रमुख सिर्जना तामाङले जानकारी दिनुभयो ।
पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक आउँदै हुनुहुन्छ । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गर्नुभएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।
यसैगरी, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिराले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिराले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।

उहाँका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते हुनुभएको छ । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उहाँलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ । बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिराले टुनीबोटका तीन घरमा क्षति पुर्याएको स्थानीयवासी केदार पौडेलले बताउनुभयो । आज बिहान ५ बजे खसेको पहिराले तीनै घरका गोठमा समेत क्षति पुर्याएको छ । पहिराको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *