भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा पूर्णिमा र भिजनलाई स्वर्ण पदक

काठमाडौँ, १५ भदौ । मुलपानी तेक्वान्दो डोजाङले आयोजना गरेको ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’मा पूर्णिमा बस्नेत र भिजन तामाङले स्वर्ण पदक जितेका छन् ।
यु–१२ महिला एकलतर्फ विजेश्वरी आवासीय माविकी पूर्णिमा ६ दशमलव ९३ अङ्क प्राप्त गर्दै पहिलो भईन । उक्त स्पर्धामा मुलपानीकी मेलिना राई ६ दशमलव ५० अङ्क प्राप्त गर्दै दोस्रो तथा गोदावरी फिट्नेसकी सर्गम थापा र काभ्रेस्थलीकी सुस्मिता कार्की तेस्रो भईन । थापाले ६ दशमलव ३० अङ्क र कार्कीले ६ दशमलव २० अङ्क प्राप्त गरे । यस्तै यु–१२ पुरुष एकलतर्फ मुलपानीका भिजन ६ दशमलव ३३ अङ्क जोड्दै पहिलो भए । सोही स्पर्धामा काभ्रेस्थलीका मिराज केसी छ दशमलव २३ अङ्क प्राप्त गर्दै दोस्रो भए । मुलपानीका रोनिश नगरकोटी ६ दशमलव १३ अङ्क तथा मुलपानीकै ईश्वर पराजुली ६ दशमलव ०३ अङ्क ल्याई तेस्रो भएको आयोजक काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्काले जानकारी दिए ।
काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा यू–१५ पुरुष एकलतर्फ कैलालीका अमनकुमार कठारियाले ६ दशमलव २६ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जिते । मुलपानीका आयुश ढुङ्गेल ६ दशमलव १४ अङ्कसहित दोस्रो तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ ६ दशमलव १३ अङ्क र योग्य राई ६ दशमलव ०६ अङ्कसहित तेस्रो भए । यसैगरी यु–१५ महिला एकलतर्फ चितवनकी आँचल बजगाईँले स्वर्ण पदक जितिन । उनले ६ दशमलव ४६ अङ्क प्राप्त गरिन । मुलपानीकी प्रगति कुइँकेल छ दशमलव ३३ अङ्क प्राप्त गर्दै दोस्रो तथा विजेश्वरीकी प्राप्ति पुन ६ दशमलव १६ अङ्क र काभ्रेस्थलीकी विनिशा खड्गी ६ दशमलव १० अङ्कसहित तेस्रो भईन ।
यसैगरी ३१–४० वर्ष उमेर समूहको पुरुष एकलतर्फ रूपन्देहीका सुरज श्रेष्ठले स्वर्ण पदक जिते । उनले पाँच दशमलव ९३ अङ्क प्राप्त गरे । सोही स्पर्धामा काठमाडौँ मैत्रीका रामचन्द्र व्यञ्जन्कार पाँच दशमलव ६६ अङ्कसहित दोस्रो भए । बागलुङका नन्द विष्ट पाँच दशमलव ५६ अङ्क तथा योन्सुफका दुर्गामान तामाङ पाँच दशमलव ३६ अङ्क प्राप्त गर्दै तेस्रो भए । प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता रहेको अध्यक्ष खड्काले बताए ।
पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश छन् । अन्तिम दिन ५ स्वर्णको टुंगो लाग्ने छ । अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।
यसैगरी, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठसहित थप ३ जनालाई कोराना भाइरस कोभिड १९ संक्रमणको पुष्टी भएको छ ।साउन ३२ गतेको परिक्षणमा एनओसीका २ कर्मचारीलाई कोरोना संक्रमणको पुष्टी भएको थियो । त्यसपछि सातदोबाटोस्थित एनओसीमा नियमित गइराख्ने पदाधिकारी र अन्य कर्मचारी गरि २० जनाको स्वाब टेष्ट गरिएको थियो ।त्यसमध्ये आफुसहित ३ जनालाई संक्रमण भएको पुष्टी भएको एनओसी महासचिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमण भएपनि तीनै जनालाई कोभिड १९ को लक्षण भने देखिएको छैन ।‘तीन दिन हाम्रो रिपोर्ट पोजेटिभ आएको छ । अहिले हामी तीन जना आइसोलेसनमा छौं,’ श्रेष्ठले शुक्रबार भने, ‘हामीलाई लक्षण देखिएको छैन । घरका अन्य व्यक्तिहरुलाई संक्रमण नहोस् भन्नका लागि हामी आइसोलेसनमा बसेका हौं ।’श्रेष्ठले कोरोना संक्रमण देखिने वित्तिकै आत्तिन नपर्ने उल्लेख गर्दै भने, ‘अब यो समुदाय स्तरमै फैलिसकेकोले जो कोहिलाई पनि हुन सक्छ । त्यसैले हरेकले आफ्नो ख्याल आफै गर्न आवश्यक छ ।’आइसोलेसनको १४ दिनपछि पुनः स्वाब परिक्षण गरिने पनि श्रेष्ठले बताए । कोरोना संक्रमण समुदायमा नै फैलन थालेपछि एनओसीले दुई साता भन्दा अघि बाट कार्यलय बन्द गरि ‘वर्क फ्रम होम’ को नीति लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *