पहिरोमा पुरिएर १० जनाको मृत्यु

खलङ्गा, १५ भदौ । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा १० जनाकोे मृत्यु भएको छ । आइतबार पहिरो जाँदा तीन घर पहिरामा पुरिँदा १० जनाको मृत्यु भएको हो स्थानीयवासी पर्याक शाहीको घर पहिराले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव राति ७ बजेतिर फेला परेको हो । शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका चार जनाको मृत्यु भएको छ ।
पहिरामा ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको मृत्यु भएको हो । यस्तै सुर्खेतको भेरीगङ्गा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक ओलियाले बताए । पहिरामा परेका मृतक शाहीकी श्रीमती पुण्या शाही र अर्का एक जना अर्जुन हमालको उद्धार गरिएको छ । उद्धार गरिएकाको उपचार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
बेपत्ता तीन जनाको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जानकारी दिए । घटनामा के कति मानवीय क्षति भएको भन्ने एकिन विवरण आउन नसकेको उपरीक्षक धामीले बताए ।

चालीस वर्षीय प्रयाग शाही, उनकी सात वर्षीया छोरी हिमा तथा छोराहरू पाँच वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो ।
बेपत्ता रहेका दुई जनाको नाम खुलिसकेको छैन । जीवितै उद्धार गरेर अस्पताल पठाइएका अर्जुन हमाल र पुन्नी शाहीको अवस्था सामान्य रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो । स्थानीय प्रशासनले भदौ २० गतेसम्म निषेधाज्ञा जारी गरेकाले बिहान पहिरो जाने बेला सबै घरभित्रै भएको हुनसक्ने स्थानीयावासी जयबहादुर शाहीले बताए ।
यसैगरी, सुनकोशी गाउँपालिका–६ धुसेनीमा गएको पहिरो पीडितको घर बनाउन गाउँपालिकाले रु पाँच लाख दिने भएको छ । पहिराले घर पुरिएकाको घर निर्माण गर्न रु पाँच लाख सहयोग गर्ने अध्यक्ष श्रमणकुमार जीसीले बताए । उनले घटनास्थलमै पुगेर पीडितसमक्ष प्रतिपरिवार रु पाँच लाख दिने घोषणा गरेका छन । आइतबार बिहान गएको पहिराले चार घर पुरेको थियो । जनप्रतिनिधि, सेना र प्रहरीको सहयोगमा जोखिममा रहेकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । सुरक्षित स्थानान्तरणका लागि ३० बण्डल जस्ता र छ वटा टेण्टसमेत गाउँपालिकाले दिएको छ ।पहिराले खिलबहादुर भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घर पुरिएको थियो । पहिराको जोखिममा रहेका अन्य नौ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *