कोरोना भाइरसबाट २२१ जनाको मृत्यु, सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार

काठमाडौँ, १५ भदौ । विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ (कोरोना भाइरस)बाट हालसम्म नेपालमा २२१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबार १२ हजार ७१७ जनामा पीसीआर परीक्षण भएकामा काठमाडौँसहित देशभर उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार हालसम्म ६ लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ५१८ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् । होम आइसोलेसनमा रहेकाको सङ्ख्या ६ हजार ९०० छ । आइतबार देशभर ७ हजार ७९७ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप २६७ कोरोना जितेर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या २० हजार ८२२ पुगेको छ । काठमाडौँ उपत्यकासहित देशभर आइतबार हालसम्मकै बढी कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ३४८ महिला र ८७३ पुरुष छन् ।
यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४२९ कोरोनाका सङ्क्रमित भेटिएका छन् । तीमध्ये काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ सङ्क्रमित देखिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि सबैभन्दा बढी देशभर एकै दिन एक हजार १११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकामा पनि आइतबारको कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्मकै बढी हो ।

कोरोनाका कारण आइतबार थप १४ जनाको मृत्यु भएको छ । त्यसमा चार महिला र १० पुरुष छन् । मृत्यु भएका चार महिलामध्ये सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ वर्षीया र काठमाडौँका ७२ वर्षीया छन् । त्यसैगरी मृत्युभएका पुरुषमध्ये सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० वर्षीय र ३५ वर्षीय तथा रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय तथा रूपन्देहीका ५७ वर्षीय र ६७ वर्षीय रहेका छन् ।
यसैगरी, कोभिड–१९ को सङ्क्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ । आइतबारसम्ममा शङ्कास्पद ८७९ जनाको पिसीआर परीक्षणमा १६६ जनामा सङ्क्रमण भेटिएको छ । त्यसमध्ये ७२ जना सङ्क्रमण मुक्त भइसकेको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए । उनका अनुसार भदौको पहिलो सातामा पर्साको वीरगञ्ज कारागारबाट सङ्क्रमण देखिएको थियो । त्यसपछि जोखिम क्षेत्रको सात वटा कारागारमा नमूना सङ्कलन गरेर परीक्षण गर्दा अन्यमा समेत देखिएको हो । नयाँ कैदीबन्दी र कारागारको सुरक्षामा खटिएका प्रहरीमा पहिलो पटक कोरोना देखिएको थियो । केहीअघि काठमाडौँको केन्द्रीय कारागारसहित स्याङ्जा, बाँके, सिन्धुपाल्चोक, सिरहा, सुनसरी र पर्साको कारागारमा शङ्कास्पद कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको सापकोटाले बताए । काठमाडौँको केन्द्रीय कारागारमा मात्रै चार जनामा देखिएको छ । प्राप्त विवरणअनुसार कारागारका सुरक्षाका लागि खटिएका २०७ प्रहरीमा पिसीआर परीक्षण गर्दा ५२ जना तथा कर्मचारी ७८ को परीक्षणमा सात जना सङ्क्रमित भएका हुन् । बाँकी सबै कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । हाल कारागारमा २४ हजार १०० कैदीबन्दी छन् । कूल ८२० कर्मचारी र झण्डै दुई हजार प्रहरी रहेका छन् । कारागारभित्र सामाजिक दूरी कायम गर्न सक्ने अवस्था नभएकाले उच्च जोखिम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *