लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित, उद्योगी व्यवसायीद्वारा निषेधाज्ञा हटाउन माग

काठमाडौँ, १५ भदौ । लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको हो । यसअघि भदौ आन्तरिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि रोक लगाइएको थियो । त्यस्तै बैठकले रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।श्रोतका अनुसार रोजगार खुला गरिएका गन्तव्य मुलुकको हकमा मात्र यस्तो निर्णय गरिएको हो । त्यस्तै बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित (बाहिरी) उडानमा केही थप्ने सैद्धान्तिक निर्णय गरेको छ । यसअघि दैनिक ५ सयभन्दा बढी नागरिकलाई नल्याउने भन्ने निर्णयमा हेरफेर गर्दै दशैं, तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै नियमित उडानमा थप गर्ने निर्णय गरेको छ ।
यसैगरी,मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन भदौ मसान्तसम्म स्थगित गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन सारेको हो । स्रोतका अनुसार कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गरी यो निर्णय भएको हो । ‘विद्यमान कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर लामो दूरीका सवारीसाधन र आन्तरिक उडान गर्न तत्काल सम्भव देखिएन,’ एक मन्त्रीले भने । यसअघिको निर्णयमा भदौ १५ देखि आन्तरिक उडान तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने भनिएको थियो । राजधानीमा कोरोना भाइरसका संक्रमित बिरामी बढिरहेको बेला मन्त्रिपरिषदले साबिकको निर्णयमा पुनर्विचार गरेको हो । कोरोना महामारी बढेपछि राजधानी काठमाडौंमा करिब दुई सातायता निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय बढाउन खोजिरहेका बेला मन्त्रिपरिषदबाट यस्तो निर्णय आएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले हङकङ र ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार ल्हासाको महावाणिज्य दूतमा नवराज ढकाल र हङकङको महावाणिज्य दूतमा उदयबहादुर रानालाई नियुक्ति गर्ने निर्णय भएको हो । दुवै सहसचिव हुन् । राना झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत् छन् । ढकाल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन् ।
यस्तै,चितवनमा तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि निषेधाज्ञासहितको लकडाउन हटाउन माग गरेका हुन् । निरन्तरको निषेधाज्ञाले आपूर्ति शृङ्खला टुट्न गई मानिस रोगले भन्दा पनि भोक र व्यावसायिक तनावले असामान्य अवस्था सिर्जना हुनसक्नेमा निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको भन्दै निषेधाज्ञासहितको लकडाउनको विकल्प खोज्न अनुरोध गरेका छन् । ज्ञापनपत्र बुझाउने सङ्घसंस्थामा चितवन उद्योग सङ्घ, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी सङ्घ, क्षेत्रीय होटल सङ्घ, हिसान, प्याब्सन, नेपाल चिकित्सक सङ्घ, रत्ननगर उद्योग वाणिज्य सङ्घ, क्षेत्रीय होटल सङ्घ, नेपाल पोल्ट्री महासङ्घ, ह्याचरी उद्योग सङ्घ र होटल व्यवसायी सङ्घलगायतका प्रमुख एवं प्रतिनिधि प्रशासन कार्यालय पुगेका थिए । ज्ञापनपत्रमा विश्व स्वास्थ्य सङ्गठन र विज्ञले कोरोनाको जोखिम दुई वर्षसम्म रहन सक्ने बताएको भन्दै वैकल्पिक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आर्थिक गतिविधि चलायमान गराउन व्यवसायीले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *