उपत्यकामा ३०१ सहित देशभरमा थपिए ८८५ नयाँ सङ्क्रमित

सञ्चिता घिमिरे

काठमाडौँ, ११ भदौ । काठमाडौँ उपत्यकामा ३०१ सहित देशभर ८८५ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ५८६ पुरुष र २९९ महिला रहेका छन् । योसँगै देशभर अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरका १८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार २५३ नमूना परीक्षण भएको थियो । हालसम्म छ लाख ३५ हजार २५२ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म घर फर्कनेको सङ्ख्या १९ हजार ५०४ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६६ दशमलव छ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या नौ हजार ८३२ रहेको छ । देशभर जम्मा १४ हजार ७३९ सक्रिय सङ्क्रमितमध्ये आठ हजार ७११ संस्थागत आइसोलेसन र छ हजार २८ होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशअनुसार, संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा एक हजार २६२, प्रदेश २ मा एक हजार ८८१, वाग्मती प्रदेशमा तीन हजार ३९, गण्डकी प्रदेशमा ३८७, प्रदेश ५ मा ७९४, कर्णाली प्रदेशमा ३५४ र सुदुर पश्चिम प्रदेशमा ९९४ रहेका छन् । त्यस्तै होम आइसोलेसनमा प्रदेश १ मा ३२२, प्रदेश २ मा तीन हजार ६७५, वाग्मती प्रदेशमा एक हजार ४९९, गण्डकीमा १८, प्रदेश ५ मा ४५४, कणार्ली प्रदेशमा २७ र सुदुरपश्चिम प्रदेशमा ७३३ रहेका छन् ।

देशभर १५१ सङ्क्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा १६, प्रदेश २ मा ४४, वाग्मती प्रदेशमा ७१, गण्डकी प्रदेशमा तीन र प्रदेश ५ मा १७ जना आईसीयूमा रहेका छन् । प्रदेश १ मा एक जना र वाग्मती प्रदेशमा १३ गरी १४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।

मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा एक हजार ३६ कल प्राप्त भएको पनि डा गौतमले बताउनुभयो । मन्त्रालयको एप्स डाउनलोड गर्नेको सङ्ख्या एक लाख ७३ हजार ३६० रहेको छ । अहिलेसम्म स्वमूल्याङ्कन फारम भर्नेको सङ्ख्या ७६ हजार ७४७ छ भने रेड जोनमा पर्नेको सङ्ख्या ५८३ छ ।

पछिल्लो २४ घण्टामा देशरभका ४४ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् । प्रदेश १ मा खोटाङमा एक, झापा १६, तेह्रथुममा आठ, पाँचथरमा चार, मोरङमा १३ र सुनसरीमा ५३ छ । प्रदेश २ मा धनुषामा ४३, पर्सामा एक, बारामा २४, महोत्तरीमा १८, रौतहटमा २०, सप्तरीमा एक, सर्लाहीमा १२० र सिराहामा तीन छन् । त्यस्तै, वाग्मती प्रदेशमा काठमाडौँमा २३०, ललितपुरमा ४७, भक्तपुरमा २४, काभ्रेपलाञ्चोकमा २१, चितवनमा ४२, दोलखामा दुई, धादिङमा एक, मकवानपुरमा २४, रामेछापमा एक र सिन्धुपाल्चोकमा एक सङ्क्रमित पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा कास्कीमा चार, गोरखामा एक, नवलपरासी पूर्वमा सात, लमजुङमा २३ सङ्क्रमित, प्रदेश ५ मा अर्घाखाँचीमा एक, कपिलवस्तुमा चार, दाङमा १६, नवलपरासीमा दुई, प्युठानमा २२, बर्दियामा एक, बाँकेमा चार, रूपन्देहीमा १९ र रोल्पामा एक सङ्क्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा जाजरकोट, दैलेख र सल्यानमा एकएक जना, सुर्खेतमा सात फेला परेका छन् भने सुदुर पश्चिम र कञ्चनपुरमा दुई, कैलालीमा २९, डढेलधुरामा दुई, डोटीमा दुई र अछाममा २० सङ्क्रमित फेला परेका छन् ।

थप ११ को मृत्यु

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ११ जनाको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् । मृत्यु हुनेमा मोरङ र भक्तपुरका एक÷एक महिला छन् । पछिल्लो २४ घण्टामा मृत्यु भएका पुरुषमा महोत्तरीका तीन कैलालीका दुई, बाराका दुई, बाँके र काठमाडौँका एक पुरुष छन् ।

छ जिल्लामा ५०० बढी सङ्क्रमित, दुईमा शून्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने दुई जिल्लामा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, रौतहट, बारा, सर्लाही महोतरी र काठमाडौँ रहेका छन् । त्यस्तै, हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मुस्ताङ र हुम्ला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *