नेपाली लेग स्पिनर सन्दीप लामिछाने खेल्ने सिपिएल सिजन २०२० सुरु


(एजेन्सी) काठमाण्डौ, ३ भदौ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० मंगलबारदेखि ट्रिनिडाड एण्ड टोबेगोमा सुरु भएको छ । सिपिएलमा ६ फ्रेन्चाइज टोली छन् । सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स, बार्बाडोस ट्राइडेन्ट्स, गुयाना एमेजन वारियर्स, सेन्ट लुसिया जुक्स, जमैका तलावाज र ट्रीनबेगो नाइट राइडर्सबीच राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा हुनेछ । शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस सिजन जमैकाबाट सिपिएल खेल्ने छन् । सिपिएल सेप्टेम्बर १० सम्म चल्ने छ । सेप्टेम्बर १९ देखि यूएईमा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुने हुँदा सिपिएल खेलाडीलाई कोरोना महामारीपछि सबैभन्दा राम्रो तयारी पनि हुने छ । सिपिएलको उद्धघाटन खेलमा आज गुयाना एमेजन वारियर्स र ट्रीनबेगो नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुका ७ ः ४५ देखि सुरु हुने छ । गुयानामा वेस्टइन्डिजका युवा ब्याट्सम्यान शिम्रन हेटमायर, निकोलस पूरन, न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यान रस टेलर, दक्षिण अफ्रिका स्पिनर इमरान ताहिर, अष्ट्रेलियाका स्पिनर क्रिस ग्रिन जस्ता खेलाडी छन् ।राइडर्समा वेस्टइन्डिजका अलराउन्डर काइरान पोलार्ड कप्तानका रुपमा छन् । न्युजिल्यान्डका ओपनर कोलिन मुनरो, विकेटकिपर टिम सिफर्ट, जिम्बावेका अलराउन्डर सिकन्दर राजा, भारतीय अनुभवी स्पिनर प्रबिण ताम्बे र वेस्टइन्डिजका अलराउन्डर सुनिल नारायण जस्ता खेलाडी छन् ।वारियर्स र राइडर्सबीच सिपिएलमा कुल १९ खेल भएको छ । जसमा राइडर्सले १० र वारियर्सले ९ खेल जितेका छन् । सिपिएल कोरोनामहामारी पछि हुने पहिलो टि२० शैलीको प्रतियोगिता र फ्रेन्चाइज लिग हो । कोरोना महामारीको कारण सिपिएलका सबै खेल समर्थक बिनाको खाली रंगशालामा हुने छन् ।
सन्दीप सम्मिलित जमैकाले पहिलो खेल बुधबार जुक्सविरुद्ध खेल्ने छ । नेपाली स्पिनर सन्दीपलाई जमैकाले ९० हजार डलर अर्थात १ करोड ८ लाख नेपाली रुपैयाँमा बराबरीमा अनुबन्ध गरेको थियो । यसअघि राष्ट्रिय टोलीको अन्तराष्ट्रिय खेल जुधेको हुँदा सन्दीपले पूरै सिजन खेल्न पाएका थिएनन् । यस पटक सिपिएल र आइपिएल दुवैको समयमा नेपालको कुनैपनि अन्तर्राष्ट्रिय खेल छैन । त्यसैले सन्दीपले सिपिएल र आइपिएल दुबै पुरै संस्करण खेल्ने छन् । यसअघिका दुबै सिजन सन्दीपले फरक फरक टोलीबाट खेलेका थिए । सन्दीपले सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स र २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सिपिएल खेलेका थिए ।
यसैगरी, नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस वर्षको सिपिएलमा सर्वाधिक विकेट लिन सक्ने खेलाडी मध्यका एक हुन् । सन्दीप जमैकाबाट सिपिएल खेल्ने गर्दछन् । गतवर्ष सिपिएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले यता नेपालको अन्तर्राष्ट्रिय खेल जुधेको हुँदा पूरै खेल खेल्न पाएका थिएनन् । यसपटक सन्दीपले पूरै खेल खेल्न पाउने छन् । सन्दीपले गत माघमा आइसिसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ६ विकेट लिएका थिए । उक्त प्रर्दशनले सन्दीपको लय राम्रो देखिन्छ । त्यसैले वेस्टइन्डिजको पिच स्पिनर उपयोगी पिचमा सन्दीपले उच्च प्रर्दशन गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *