कोरोनाका कारण नेपाली फिल्म क्षेत्र डामाडोल, प्रदर्शनका लागि तयार दर्जनौं फिल्म थन्किए

काठमाण्डौ, ३ भदौ । कोरोनाका कारण नेपाली फिल्म क्षेत्र डामाडोल भएको छ । प्रदर्शनका लागि तयार दर्जनौं फिल्म थन्किएका छन । कोभिड १९ को संक्रमणले यतिबेला विश्व आक्रान्त छ । अमेरिका जस्तो संसारको शक्तिशाली राष्ट्रले समेत यो संक्रमणको अगाडि घुँडा टेकेको अवस्थामा छ । नेपालले पनि यसबाट ठूलो क्षति बेहोरिसकेको छ । दिन–प्रतिदिन संक्रमितको संख्या बढ्दो छ भने मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ । विना तयारी खोलिएको लकडाउनपछि संक्रमण नियन्त्रणभन्दा बाहिर गएको हो । कोरोनाका कारण नेपालका हरेक क्षेत्र प्रभावित छन् । देशको अर्थतन्त्रको मेरुदण्ड मानिने विभिन्न क्षेत्रसँगै नेपाली फिल्म क्षेत्र पनि डामाडोल छ । गएको पाँच महिनादेखि सिनेमा हलमा ताल्चा लागेका छन् । प्रदर्शनका लागि तयार दर्जनौं फिल्म कम्प्यूटरको हार्ड डिस्कमा थन्किएका छन् । लकडाउनपछि फ्लोरमा रहेका फिल्मको छायांकन रोकिँदा निर्मातालाई लाखौं क्षति भएको छ ।अर्कोतिर, फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प हुँदा हजारौं प्राविधिकको घरमा चुलो बल्न छाडेका छन् । कलाकारहरुलाई नै आर्थिक संकट उत्पन्न हुन सुरु भएको छ । लकडाउन खुकुलो भएपछि म्यूजिक भिडियोको छायांकन पुरानै गतिमा भइरहेको थियो । तर, कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि अहिले प्रहरीले कुनै प्रकारको छायांकन गर्न दिएको छैन ।
सरकारले गएको महिना लकडाउन अन्त्यको घोषणा गर्दै विभिन्न क्षेत्र खोल्न अनुमति दिएको थियो । तर, मनोरञ्जन क्षेत्रमा प्रतिबन्ध कायमै राखिएको थियो । फिल्मकर्मीहरुले सरकारको यो निर्णयको विरोध गरे । आजको भोली चलायमान हुने क्षेत्र नभएकाले निर्देशिका बनाएर फिल्म क्षेत्र खोल्न फिल्मकर्मीले आवाज उठाएका थिए । तर, अहिले सबै पर्ख र हेरको अवस्थामा छन् ।
कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि तत्काल फिल्म निर्माण, प्रदर्शन र वितरण खुल्ला गर्न नहुने पक्षमा उनीहरु छन् । यद्यपि, दशैंअघि फिल्म क्षेत्र सञ्चालनमा आउने आशमा फिल्मकर्मी थिए र छन् । तर, काठमाडौं जिल्ला प्रशासनले भदौ १५ गतेसम्म मनोरञ्जन क्षेत्रमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि दशैंअघि फिल्म क्षेत्र खुल्ने सम्भावना न्यून हुँदै गएको छ ।
देशभर कोरोना संक्रमितको संख्या बढ्नुले भदौ १५ गतेबाट पनि मनोरञ्जन क्षेत्रमा लगाइएको प्रतिबन्ध लम्बिन सक्ने देखिन्छ । यद्यपि, यसपालीको दशैं कात्तिकको पहिलो हप्तामा छ । अबको दुई महिनामा संक्रमण सामान्य भए फिल्म क्षेत्र पुनः सञ्चालनमा आउन सक्नेछ । तर, अहिलेको अवस्थामा हेर्दा दशैंअघि सिनेमा हलमा नयाँ फिल्मको पोस्टर टाँसिने सम्भावना न्यून देखिन्छ ।
दशैं फिल्म प्रदर्शनका लागि सबैभन्दा उत्तम मानिन्छ । लामो विदा हुने भएका कारण फिल्मलाई लगानी उठाउन ठूलो सकस पर्दैन । यही कारण दशैंमा फिल्म प्रदर्शन गर्न फिल्मकर्मीबीच ठूलो राजनीति हुने गरेको छ । तर, यसपटक कोरोनाका कारण दशैंमा सिनेमा हल सुनसान हुने देखिएको छ । न त दशैंलाई प्रदर्शन मिति घोषणा भएका फिल्मको निर्माण नै सम्पन्न भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *