मरेको कुखुरा बेच्नेलाई ३ लाख जरिवाना


काठमाडौं,३ भदौ । मरेको कुखुरा बेच्नेलाई वाणिज्य विभागले ३ लाख जरिवाना गरेको छ । काठमाडौंको भीमसेनगोलामा रहेको बी एण्ड बी मिटसपलाई ३ लाख जरिवाना गरेको हो । वाणिज्य विभागले बी एण्ड बी मिटसपबाट बिक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु बरामदपछि नष्ट गरिएको छ । विशेष सुराकीको आधारमा बानेश्वर प्रहरीले बरामद गरेको मासु सोमबार वाणिज्य विभागले पशु चिकित्सकसमेतको रोहबरमा निरिक्षण गरेको थियो । मृत कुखुरालाई ताजा मासुको रुपमा बिक्री गर्न लागेको पाइएपछि जरिवाना गरेर नष्ट गर्न निर्देशन दिइएको विभागका निर्देशक एवं अनुगमन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए । प्रहरीले मंगलबार कुखुरा नष्ट गरेको र कालोबजारी ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप कारबाही अघि बढाउने निर्देशक मिश्रले बताएका छन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मरेका कुखुरा बेच्न खोज्ने पसलेलाई जरिवाना हैन, जेल हाल्नुपर्ने बताएका छन । सोमबार बिहान काभ्रेबाट कुखुरा बोकेर काठमाडौं आएको एउटा भ्यान बेथानचोकमा दुर्घटनामा प¥यो । उक्त गाडीमा एक हजार किलोग्राम तौल बराबरका बोइलर कुखुरा थिए । गाडी पल्टिएपछि गाडीमा भएका सबै बोइलर कुखुरा भकाभक मरे । ती बोइलर कुखुरा काठमाडौं महानगरपालिका–३१ प्रयाग मार्गस्थित बिएण्डबी मिट मार्टका सञ्चालक काभ्रे पनौती नगरपालिका–१० का ३३ वर्षीय कृष्णचरण गोछेले ल्याएका थिए । बाटैमा कुखुरा मरेपछि उनले त्यहीँ व्यवस्थापन गर्न खोजेनन् बरू काठमाडौं ल्याएर बिक्रीमा राखे । यो खबर पाएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरले सोमबारनै कुखुरासहित सञ्चालक गोछेलाई पक्राउ ग¥यो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उनलाई तीन लाख जरिवाना तिराएर छोड्यो । यता,उपभोक्ता अधिकारवादीका अनुसार उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने मासु पसलेलाई जरिवाना तिराएर हैन, पक्राउ गरेर कारबाही गर्नुपर्ने हो । ‘मरेको पंक्षीको मासु बेच्नु भनेको त अत्यन्तै गम्भीर अपराध हो, यस्तोमा जरिवानाले पुग्दैन, कालोबजारी वा अखाद्य पदार्थ बिक्री कसुरमा अदालतमा मुद्दा लैजान सकिन्छ,’ उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले भनेका छन । बानेश्वर वृत्तका डिएसपी दक्षबहादुर बस्नेतले आफूहरूले पक्राउ गरेपछि विभागको टोली आएर कारबाही गरेको र सो कारबाहीपछि मासु नष्ट गरेर पसलेलाई छोडिएको बताए । खाद्य ऐन २०२३ ले मरेको पशुपंक्षी खाने प्रयोजनमा प्रयोग गर्न नपाइने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *