देशद्रोही भिडियो बनाउने पक्राउ

काठमाडौं, ३ भदौ । ’देशद्रोही’ नामको म्युजिक भिडिओ बनाउने ४ जना पक्राउ परेका छन । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने समूहका चार सदस्य पक्राउ परेका हुन् । मंगलबार दिनभरि अपरेसनमा जुटेको महानगरीय अपराध महाशाखाले चार जना पक्राउ गरेको हो । अन्य ६ जना व्यक्तिहरूको पहिचान भइसकेको र खोजी तीब्र पारिएको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताए । ‘हिजो दिनभर हाम्रो टोलीले काठमाडौंका विभिन्न ठाउँबाट चार जनालाई पक्राउ गरेको छ,’ थापाले भने, ‘थप ६ जना को हुन् सबै थाहा भइसकेको छ, खोजी भइरहेको छ ।’ मंगलबार पक्राउ पर्ने एक युवती र तीन युवा छन । तिनीहरूमा क्यामरामेन, भिडिओमा आवाज भर्ने, भिडिओ इडिट गर्ने र भिडिओ लिएर इडिटिङ गर्न जाने व्यक्ति समातिएको थापाले बताए ।
यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ । सोमबार एक युट्युव च्यानल मार्फत ’देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो । मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । भदौ १ गते अपलोड गरिएको भिडियो हालसम्म १ लाख १० हजार बढीले हेरेका छन् । गीतमा ९ सय जनाले लाइक गरेका छन् भने ४४ हजारले डिस्लाइक गरेका छन् । झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो । उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ । सार्वजनिक भएको गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाएको छ । गीतका शब्दमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको छ । जातीय द्वन्दलाई प्रशय दिने खालको गीतमा ढाका टोपीलाई पनि अपमानजनक शब्द प्रयोग भएको छ ।
आपत्तिजनक शब्द र भिडियो फुटेज रहेको सो गीतमा नेपालको झण्डामा आगो लगाइएको छ भने ‘बाहुन क्षेत्री लुटेरा शरणार्थी’ भएको भन्ने जस्ता आपत्तिजनक शब्द प्रयोग गरेर नेपालबाट खेद्नुपर्छ भनिएको छ । भिडियोको थम्नलेलमा देशद्रोही शरणार्थी बाहुन क्षेत्रीको हिन्दू झण्डा भन्दै जलाएपछि भन्ने शब्द राखिएको छ । जहाँ नेपालको झण्डा र पृथ्वी नारायण शाह, प्रचण्ड, ज्ञानेन्द्र शाह, विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताको तस्विर पनि जलाइएको छ । देशद्रोही शीर्षक राखिएको सो भिडियोको तल गायकको परिचय दिएको छ । मंगोलियन ¥याप नाम दिइएको सो गीतका रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम, भाषा खस र राष्ट्रियता नेपाली लेखिएको छ । महाशाखाले यस्तो भिडिओलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न । कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *