नेपालमा कोरोना संक्रमित २८ हजार, १ सय १४ जना मृत्यु

काठमाण्डौ, ३ भदौ । नेपालमा कोरोना संक्रमणबाट १ सय १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मंगलबार ६ जनाको मृत्यु भएपछि मृत्यु हुनेको सख्या १ सय १४ पुगेको हो । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ललितपुर, मोरङ,धनुषा, नवलपरासी, काभ्रे, बाँके र कास्की मा ६ जनाको मृत्यु भएको हो । ललितपुर स्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्तालका निर्देशक डाक्टर रवि शाक्यले बताए । ती युवकलाई श्वासप्रश्वासमा समस्या आएपछि साउन ३० गते आइसीयूमा भर्ना गरिएको थियो । यता काभ्रेस्थित धुलीखेल अस्पतालमा उपचाररत ९८ वर्षीय संक्रमित वृद्धको पनि मंगलबार नै मृत्यु भएको छ ।
यस्तै गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको समेत मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । ज्वरो तथा श्वासप्रश्वासको समस्या भएर २२ गते भर्ना भएका थिए । ती पुरुषमा सुगर र मिर्गौला रोगी थिए । यस्तै कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ निवासी ५० वर्षीय महिलाको आईसीयूमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । मृतक महिलामा सुगर, मुटुको समस्या थियो । यसैबीच नेपालगन्जमा कोरोना संक्रमणकै कारण ६२ वर्षीय पुरुषको समेत मृत्यु भएको छ ।
यसैगरी,कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा मंगलबार रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । निषेधाज्ञाको अवधिमा खाद्य पदार्थ र औषधिबाहेक अरु सबै पसल बन्द रहने जनाइएको छ । सो अवधिमा घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्य, सञ्चार र सुरक्षाकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक जिप्रकाबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् भने सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।
यस्तै, कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार (भदौ १) मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो ।
उता,कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले जनाएको छ । बागलुङ नगरपालिका–१, २, ३ र ४ वडाले पनि वडाबाट प्रदान गरिने सेवा एक सातालाई बन्द गरिएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *