सरकारले काठमाडौंमा सार्वजनिक क्वारेन्टिन बनाउन नसक्दा विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने कार्य स्थगित


काठमाण्डौ, ३ भदौ । सरकारले काठमाडौंमा सार्वजनिक क्वारेन्टिन बनाउन नसक्दा विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने कार्य स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि मंगबारदेखि स्थगित भएको हो । यता, काठमाडौंमा भने व्यवसायीले होटेल क्वारेन्टिन बनाउन सीसीएमसीलाई ३५ सय वटा कोठाको सूची नै बुझाएका छन् । होटेल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठका अनुसार हानले सीसीएसीलाई पटक पटक गरी कुल ३५ सय कोठाको सूची होटेल क्वारेन्टिन बनाउन सकिने गी बुझाइसकेको छ । यसका लागि होटेल तयार पनि छन् । तर होटेल व्यवस्थापन हुन नसकेको भन्दै उडान रद्द गरिएकोमा भने व्यवसायी अचम्म परेको उनले प्रतिक्रिया दिए । ‘दैनिक ५ सयलाई ल्याउने भनिएको छ, हामीसँग अहिले नै ३५ सय कोठाको सूची तयार छ,’ उनले भने, ‘होटेलकै कारण उडान रोकिएको भन्न त मिल्दैन ।’
पर्यटन मन्त्रालय स्रोतका अनुसार होटेल व्यवस्थापन मूख्य कारण बताइएपनि विदेशबाट फर्कनेमध्ये धेरैजसो व्यक्ति सरकारले बनाएको क्वारेन्टिनमा बस्न चाहन्छन् । किनकी धेरै नेपाली अहिले विदेशमा बेखर्ची भएर बसेका छन् । सरकारले काठमाडौंमा सार्वजनिक क्वारेन्टिन बनाउन सकेको छैन । सोहीकारण जबर्जस्ती होटेलमा बस भन्न सक्ने अवस्था नभएपछि सरकार उडान नै रोक्ने निष्कर्षमा पुगेको हो । ‘स्थानीय तहले जान दिन्नन्, काठमाडौंमा क्वारेन्टिन नै छैनन, होटेलमा बस्न मान्दैनन्, अनि ल्याएर मात्र के गर्ने भन्ने सोच सरकारले बनाएका कारण उद्धार उडान अनिश्चितकालका लागि स्थगन भएको हो ।
हालैको मन्त्रिपरिषद् बैठकले भदौ १ अर्थात अगष्ट १७ तारिखदेखि दैनिक ५०० नेपालीको उद्धार उडानमार्फत स्वदेश फर्काउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले उद्धार चार्टड उडान गरी नेपालीलाई फर्काउने तालिका बनाएका थिए । नेपाल एयरलाइन्सले अगष्ट १७ देखि ३१ र हिमालय एयरलाइन्सले अगष्ट १६ देखि ३० सम्मको उडान तालिका बनाएका थिए । विदेशमा अप्ठे्यारो अवस्थामा रहेका नेपाली फर्काउन पाँचौँ चरणको उद्धार उडानका लागि सीसीएमसीले ४३ वटा उडान अनुमति दिएको थियो । कोरोनाको सङ्क्रमण बढिरहेको र विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषण गर्नेक्रम पनि बढिरहेकाले होटल क्वारेन्टिनको व्यवस्था नभएको ब्यहोरा जनाउदै सीसीएमसीले उद्धार उडान स्थगन गर्न मन्त्रालयलाई लिखित निर्देशन दिएको हो । सीसीएमसीले पर्यटन मन्त्रालयलाई पठाएको पत्रमा होटेल क्वारेन्टिन सुनिश्चत हुने गरी मात्र उडान स्वीकृति दिने तथा यसअघि जारी उडान अनुमति स्थगित गर्न भनिएको छ । उडान स्थगित भएपछि नेपाल एयरलाइन्सले सूचना निकालेर अगष्ट १८ तारिखदेखि उद्धार उडान अर्को सूचना जारी नभएसम्म हाललाई स्थगित गरिएको जनाएको छ । सीसीएमसीको विवरणमा भदौ १ गतेसम्म विभिन्न मुलुकबाट घर फर्किने नेपालीको सङ्ख्या ५१ हजार ७६१ रहेको छ ।
यसैगरी,नेपाल एयरलाइन्सको वाइड बडी ए ३३० जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको छ । काठमाडौँबाट २३१ यात्रु लिएर सोमबार दुबई गएको वाइड बडी जहाज मंगलबार काठमाडौँ फर्किएको हो । काठमाडौँबाट विभिन्न मुलुक जानेभन्दा पनि विदेशी गन्तव्यबाट नेपाल फर्कने यात्रुको अत्यधिक चाप रहेको र मागअनुसार सिट दिन नसक्ने अवस्था रहेको पनि निगमले उल्लेख गरेको छ । निगमले मंगलबारदेखि अनिश्चितकालका लागि सबै अन्तर्राष्ट्रिय चार्टड उडान बन्द गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिईन । यता नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले पनि सूचना निकालेर मंगलबार कतारको काठमाडौँ–दोहा गन्तव्यका लागि तय गरेको उद्धार उडान स्थगित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *