कर्णाली प्रदेश, सिन्धुपाल्चोक र सिरहामा निषेधाज्ञा जारी


काठमाण्डौ, २ भदौ । कर्णाली प्रदेशका तीन जिल्ला, सिन्धुपाल्चोक र सिरहा जिल्लाको १७ वटै स्थानीय तहमा सोमबारबाट निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि कर्णाली प्रदेशको सुर्खेत, जुम्ला र मुगुमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् । स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय स्थानीय तहमा भने सोमबारदेखि निषेधाज्ञा जारी भएको छ । सुर्खेतको वीरेन्द्रनगर, मुगुको गमगढी र जुम्लाको चन्दननाथमा आजदेखि निषेधाज्ञा लागू भएको छ ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक–पटक निषेधाज्ञा लागू गरिसकिएको छ । साथै रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा पनि बुधवारदेखि निषेधाज्ञा जारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगमा लकडाउन हटेसँगै बजारमा हुने अत्याधिक भिडभाड, नजिकिँदै गरेका चाडबाड र समुदायस्तरमा संक्रमण पुग्न थालेपछि निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
‘समुदायस्तरमा संक्रमण देखिएपछि ‘कन्ट्रयाक ट्रेसिङ्ग’ गर्न कठिन भएको छ । नागरिकको अटेरीका कारण पनि जोखिम बढेको छ । त्यसैले निषेधाज्ञा जारी गर्नको विकल्प रहेन,’ उनले भने ।निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने उनले बताए । कर्णाली प्रदेशको केन्द्र वीरेन्द्रनगरमा सोमबार बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोनाको जोखिम बढेको भन्दै सुर्खेतको भेरीगंगा नगरपालिकाका क्षेत्रभित्र रहेका बजार पनि आजदेखि बन्द गरिने भएको छ । नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै साँझ ७ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा भेरीगंगा नगरपालिका भित्रपर्ने छिन्चु, जहरे, झिङ्नी र रामघाट बजार बन्द रहने उपप्रमुख रेनु आचार्यले जानकारी दिइन ।
जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने नाकाहरूमा कडाइ गर्ने निर्णय गरेको छ । पास बनाएर आएका व्यक्तिहरूलाई समेत पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको बबई, कुइने, सल्यानको कालिमाटी, काल्चे र कपुरकोट लगायतका सीमा नाकामा पीसीआर रिपोर्ट हेरिनेछ । प्रदेशभरका मुख्य बजार क्षेत्रका होटल तथा रेष्टुरेण्ट पूर्णरूपमा बन्द गर्ने निर्णय पनि प्रदेश सरकारले यसअघि नै गरिसकेको छ ।
यसैगरी, कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा सोमबार बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले आ–आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समितिको निर्णयअनुसार लकडाउन गर्न सबै पालिकालाई पत्राचार गरिसकेको प्रजिअ कँडेलले बताए ।
यसैबीच कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सिरहा नगरपालिका र गोलबजार नगरपालिकाले जारी गरेको लकडाउनलाई सोमबारदेखि दुई साता थप गरिएको छ । सिरहा नगरपालिकाले सोमबार बिहानदेखि १५ दिन थप लकडाउन गर्ने निर्णय गरेको छ । प्रजिअ कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि भदौ १५ गतेसम्म लकडाउन थप गरिएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले जानकारी दिए । यसअघि सो नगरपालिकाले साउन २५ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्म लगाइएको लकडाउन गए राति १२ बजे सकिएपछि सोमबार बिहानबाट लकडाउनको अवधि भदौ १५ गते राति १२ बजेसम्मका लागि थप गरिएको नगरप्रमुख यादवले बताए ।
त्यसैगरी गोलबजार नगरपालिकाले पनि लकडाउन दुई साताका लागि थप गरेको छ । गोलबजार नगरपालिकाले सोमबार बिहानदेखि भदौ १५ गतेसम्मका लागि लकडाउन थप गरिएको नगरप्रमुख देवनाथ साहले जानकारी दिए । नगरभित्र अति आवश्यक औषधि पसल, ढुवानी सेवा, एम्बुलेन्स तथा अत्यावश्यक इमर्जेन्सी गाडी चल्ने गरी लकडाउनको समय बढाइएको गरिएको छ ।यस्तै कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय लहानले सोमबारदेखि भदौ १५ गतेसम्म अत्यावश्यक कामबाहेक सम्पूर्ण कार्य बन्द गरेको छ । कार्यालयले सूचना प्रकाशित गरी सोमबारदेखि १५ दिनका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै काम बन्द गरिएको जनाएको छ ।
यता, सिन्धुपाल्चोकमा सोमबारदेखि लकडाउन गरिएको छ । बन्दाबन्दीका कारण सोमबार जिल्लाका मुख्य बजार बिहानैदेखि सुनसान छन । छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने जनाउँदै गए राति १२ बजेदेखि लागु हुने गरी यहाँ एक सातासम्म लकडाउन गरिएको हो । शनिबार बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले सोमबारदेखि एक सातासम्मका लागि जिल्लामा लकडाउन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *