तेक्वान्दो संघको पुर्नगठन, शाहीको अध्यक्षतामा १७ सदस्सीय तदर्थ समिति गठन

काठमाण्डौ, १ भदौ । सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघको पुर्नगठन गरिएको छ । सुवास बहादुर शाहीको अध्यक्षतामा शनिबार १७ सदस्सीय तदर्थ समिति गठन गरेको हो । पुनर्गठन गरिएको तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा केशब भट्ट, उपाध्यक्षमा प्रतिभा शाह, सरोज चौधरी र उत्तम प्रसाद भट्ट रहेका छन् । महासचिवमा बहादुर सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर र सचिबमा श्रीराम चौधरी रहेका छन् ।यस्तै सदस्यमा जेपी चन्द, सुबास पडाल, रमेश कुमाल, लोग बहादुर बुढा, कमल कार्की, धन्नन्जय रिमाल, दिल देउबा, कमल पनेरु र महेश खत्री रहेका छन् ।
कार्यक्रममा धनगढी उप–महानगरपालिकाका खेलकुद संयोजक दिपक थापा, धनगढी उप–महानगरपालिका वडा ८ का वडाध्यक्ष नारायण बराल, कंचनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र सिंह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश कुमार चन्द लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी,महेन्द्रनगर स्वयम् सेवक प्रशिक्षक रहेर दर्जन बढी राष्ट्रिय खेलाडी उत्पादन गरेका ब्याडमिन्ट प्रशिक्षक बिक्की थापालाई महेन्द्रनगरस्थित कभर्डहलमा शनिबार भव्य स्वागत गरिएको छ । प्रशिक्षक थापालाई नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष गोविन्द स्वाँर र ब्याडमिन्टन खेलाडीहरुले भव्य स्वागत गरेका हुन् । प्रशिक्षक थापा झन्डै चार वर्षपछि महेन्द्रनगरमा रहेको ब्याडमिन्टन कर्भहलमा फर्किदा त्यहाँ प्रशिक्षणरत खेलाडीहरुले गुरुप्रति सम्मान दर्शाएका हुन् । खेलाडीको न्यानो स्वागतसँगै उनले स्वयम्सेवक प्रशिक्षक भएर कहिले सम्म मेहनत गर्ने भएर नै झन्डै चार वर्ष बैंग्लोर जानुपरेको स्मरण गरे । उनले यहाँ रहँदासम्म जुनियर तथा सिनियर खेलाडीलाई प्रशिक्षण दिने र राखेपले चाहेको अवस्थामा आफु सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।
ब्याडमिन्टनका राष्ट्रिय खेलाडी मोहन ऐरले गुरुको आगमनले अत्यन्त खुशी रहेको बताए । ‘गुरुले तीन महिना हामीलाई प्रशिक्षण गराउने भनेपछि खेलाडीहरुमा हर्ष थपिएको छ ।’ मोहनले भने, ‘गुरु यहाँ आउँदा कहिल्यै खाली हात आउनु भएको छैन । हामीलाई निरन्तर कर्क, ¥याकेट, टिसर्ट र खेल समग्री सहयोग गरिरहनु हुन्छ । सेल्फ प्रशिक्षणका भरमा विभिन्न प्रतियोगिताहरुमा जिल्लाको प्रतिनिधित्व गर्नुपर्ने तितो यथार्थ व्याडमिन्टन खेलाडीहरु माँझ छ ।’उनले तिनै प्रशिक्षक कभर्डहल आउने थाहा पाएपछि अरु दिनभन्दा बढी खेलाडी आएका बताए ।
भारतको बैंग्लोरमा बैंग्लोर ब्याडमिन्टन एकेडेमीमा रहेको समेत ब्याडमिन्टन प्रशिक्षण गराउँदै आएका प्रशिक्षक बिक्कीले महेन्द्रनरगबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्मका खेलाडी जन्माइसकेका छन् ।उक्त कभर्डहलमा जुनियर तथा सिनियर खेलाडीहरु तीन बर्षभन्दा बढी समययता प्रशिक्षक बिहीन अवस्थामा आफ्नै तरिकाले खेल्ने र सिक्ने गरिरहेका छन् । प्रशिक्षक थापाले विगतमा प्रशिक्षण गराएका खेलाडीबाहेक अहिले महेन्द्रनगरमा ब्याडमिन्टन खेलमा नयाँ खेलाडी उत्पादन हुन सकेको छैन ।
यस्तै,लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो ।
खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागेको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खेलाडीमा सानो भए पनि बीमाबाट राहत मिल्ने ट्रष्टले जनाएको छ । खेलाडीको कोरोना बीमा स्वागतयोग्य कुरा भएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । “खेलाडीको कोरोना बीमा अहिलेको आवश्यकता हो, ट्रष्टले यो सराहनीय काम गरेको छ”, उनले भने । खेलाडीको प्रशिक्षण भने तत्काल सम्भव नभएको उहाँको भनाइ छ । खेलाडीको प्रशिक्षण सरकारी निर्णय र कोरोना सङ्क्रमणको अवस्थामा निर्भर रहेको महासचिव चन्दले बताए । तेह्रौँ सागमा नेपाली महिला भलिबल टोलीले रजत पदक प्राप्त गरेको थियो । परुष भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियो । हाल भलिबल खेलाडीहरू आ–आफ्नै ठाउँमा घरमै शारीरिक व्यायाम गरिरहेको उनले उल्लेख गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *