४० वटा जिल्लामा निषेधाज्ञा र लकडाउन


काठमाडौं, १ भदौ । देशभरि कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि जिप्रका र स्थानीय सरकारहरूले निषेधाज्ञा वा सिल गर्ने निर्णय गरिरहेका छन् । सरकारले दिएको अधिकार प्रयोग गरेर ४० वटा जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले आंशिक तथा जिल्लाभरि निषेधाज्ञा वा सिल गर्ने निर्देशन दिएको हो । अधिकांश जिप्रकाले निषेधाज्ञाको अवधि तोकेका छन् भने केहीले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका छन् । सप्तरी, धनुषा, नुवाकोट, बाँके, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, बर्दिया, बझाङ, मोरङ, दार्चुला, झापा, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, रुपन्देही, कैलाली, मकवानपुर, कपिलवस्तु, धादिङ, रुकुम पश्चिम, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, चितवन, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, बाग्लुङ र गोरखा जिप्रकाले अवधि तोकेर निषेधाज्ञा जारी गरेका छन् । बारा, पर्सा, जुम्ला, पाल्पा र रामेछापले अर्को आदेश नहुँदासम्मका लागि निषेधाज्ञारसिल गरेका छन् । जिप्रका, पाल्पाले तानसेन नगरपालिका र जिप्रका रामेछापले रामेछाप नगरपालिका अर्को निर्णय नहुँदासम्मका लागि सिल गरेको छ ।
कोरोना संक्रमण बढेको भन्दै सिन्धुपाल्चोक र उदयपुर जिल्लामा लकडाउन गर्ने निर्णय भएको छ । छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र सिन्धुपाल्चोकमा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ । शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो । यस निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ । लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन् । अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए ।
यसैगरी, उदयपुरको कटारी नगरपालिकाले आइतबार देखि अनिश्चितकालीन लकडाउन गर्ने भएको छ । आइतबार बिहान बसेको बैठकले कोरोनाभाइरस संक्रमण समुदायस्तरमै फैलिएको भन्दै लकडाउन गर्ने निर्णय गरेको हो । मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वास्थ्य सेवा र औषधि पसलबाहेक अरू व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । निजी सवारी साधन प्रयोग र हिडडुलमा समेत रोक लगाइएको उनले जानकारी दिए । आज दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि लकडाउन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *