अस्पतालका डाक्टर, नर्स, प्रहरी र कर्मचारीसहित सयौमा कोरोना पुष्टि


काठमाडौं, , १ भदौ । अस्पतालका डाक्टर, नर्स, प्रहरी र कर्मचारीसहित सयौमा कोरोना संक्रमण भएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र स्त्री तथा प्रसुति रोग विभागका प्रमुखलाई पनि कोरोना संक्रमण देखिएको छ । अस्पतलका अध्यक्ष डा.भोजराज अधिकारीले मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारी, स्त्री तथा प्रसुति रोग विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे । अर्का एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको उनले बताए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा.अधिकारीले बताए । अस्पताल तथा सरोकारवाला निकायको आकस्मिक बैठक बसेर अस्पताल कसरी सञ्चालन गर्ने बारे निर्णय गरिने अध्यक्ष डा.अधिकारीले बताए । अस्पतालको आकस्मिक कक्षलाई अर्को ठाउँमा सारेर आधारभूत सेवा दिने तयारी भइरहेको उनले बताए । यसअघि सोही अस्पतालको आइसियू कक्षमा कार्यरत र प्यथोलोजिस्ट डाक्टरलाई कोरोना पुष्टि भएको थियो । पछिल्लो समय चितवनमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढेको छ । शनिबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ६ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य शाखाका केशव भट्टले जानकारी दिए । यहाँ दुई जना नर्स र तीन जना एटेन्डरलाई संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखेर कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । भरतपुरकै नारायणी सामुदायिक अस्पतालमा कार्यरत एक जनामा पनि कोरोना पोजेटिभ देखिएको भट्टले बताए । यहाँको सेन्ट्रल अस्पतालबाट स्वाब संकलन गरिएका एक जनामा पनि कोरोना पुष्टि भएको छ । नर्समा कोरोना संक्रमण देखिएपछि सिल गरिएको भरतपुर अस्पतालको आकस्मिक कक्ष शनिबार रातिबाट सञ्चालनमा ल्याइएको छ । क्यान्सर अस्पतालको मेडिसिन वार्ड भने अझै सिल छ । मेडिसिन वार्ड सिल हुँदा किमो चढाउनुपर्ने अवस्थाका क्यान्सरका बिरामीहरुलाई असर परेको छ । चितवनमा अहिलेसम्म दुई दर्जन बढी स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित बनेका छन् । शनिबार राती चितवनका २७ सहित २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
यसैगरी,नारायणी अस्पतालका ४ जना कर्मचारीसहित बारा र पर्साका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा १० जना महिला र ३७ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जका २०, बाराका ३, नारायणी अस्पतालका ४ कर्मचारी र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा संक्रमण देखिएको हो । यस्तै पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई र रक्सौल पन्टोकाका एकरएक जनामा संक्रमण देखिएको छ भने एक जनाको भने ठेगाना खुलेको छैन । पछिल्लो समय वीरगन्जमा कोरोना संक्रमण बढिरहेको छ ।
यस्तै, चितवनमा एकैदिन २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन्। भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर सेन्ट्रल अस्पतालबाट कन्ट्याक ट्रेसिङ्बाट गरिएको स्वब संकलनबाट भरतपुर महानगरपालिका वडा नं.३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पोजेटिभ देखिनेहरु २२ दखि ५३ वर्ष उमेर समूहका रहेका छन् ।
यता, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार दुई जना प्राविधिकतर्फका डिआइजीमा पनि संक्रमण देखिएको हो । अहिले उनीहरूको उपचार भइरहेको उनले जानकारी दिए । बिहीबार अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षण गर्न स्वाब निकालिएको थियो । उनीहरूको रिपोर्ट शनिबार बिहान आएको थियो । ’आइतबारसम्म हेडक्वार्टरमा एक सय ५५ जनामा संक्रमण देखिएको छ,’ कडायतले भने,’सबैको विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचार भइरहेको छ ।’ त्यस्तै महानगरीय प्रहरी कार्यालाय रानीपोखरीमा पनि ३० जना प्रहरीमा संक्रमण देखिएको एसएसपी कडायतले जानकारी दिए । नेपालभर ६ सय २० जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। जसमध्ये ३ सय ८०को उपचार भइरहेको छ भने २ सय ४० जना निको भइसकेका छन् ।
उता,रुपन्देहीस्थित नेपाल आयल निगमका विभिन्न कार्यालयमा कार्यरत १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । निगमको भलबारीस्थित प्रादेशिक डिपोका ३, निगमकै भैरहवास्थित पेट्रोल पम्पका ३ र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जनामा कोरोना संक्रमण पुष्टि हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना र विमानस्थल डिपोका १६ जना गरी ७८ जनाको स्वाब परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए । डिपोका कर्मचारीमा कोरोना देखिएपछि विमानस्थलको हवाई इन्धन डिपो शुक्रबारबाट नै शिल गरिएको तथा भैरहवाको पेट्रोल पम्प र भलबारी डिपोबाट पनि आइतबारदेखि काम बन्द भएको प्रादेशिक डिपो कार्यालय भलबारीका प्रमुख इन्जिनियर सुरज शाहले बताए । आइतबार साँझसम्म संक्रमित संख्या २६ हजार ६६० र मृतक संख्या १०४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *