नेकपाको सचिवालय बैठक बस्दै, मन्त्रिमण्डल पुनर्गठनको तयारी, पार्टी एकता अक्षुण राख्नेगरी प्रस्ताव तयार

काठमाडौं, १ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले (आज) सोमबार सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए । नेतात्रयले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी सचिवालयको बैठक राखेर कार्यदल गठन गर्नु उपयुक्त हुने धारणा राखेका थिए । स्रोतका अनुसार त्यसअनुसार नै सोमबार विहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको हो । समसाममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन । साउन ३ गतेको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका थिए । बैठकमा अर्का अध्यक्ष प्रचण्डले सहमति जनाए पनि बैठक पछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको स्पष्ट पारेका थिए । त्यसयता नेकपाभित्रको विवाद थप चर्किँदै गएको छ । साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डले बैठक आयोजना गरेका थिए । बैठकमा ओलीइतर समूहका २९ जना स्थायी कमिटी सदस्य उपस्थित थिए ।
यसैगरी,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झ्याउन ६ नेता सम्मिलित कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको छ । कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएलगत्तै सोही प्रतिवेदनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने बालुवाटारको तयारीपछि सो पार्टीका नेता कार्यकर्तामाझ मन्त्रिमण्डल पुनगर्ठनको चर्चा चल्न थालेको हो । खासगरी पार्टीमा देखिएका आन्तरिक समस्या सम्बोधन गर्ने तथा पार्टी एकता अक्षुण राख्नेगरी प्रस्ताव तयार गर्न कार्यदललाई भनिएको छ । नेकपामा पहिलेदेखि नै एक व्यक्ति एक जिम्मेवारीको विषय उठाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालको माग सम्बोधन गर्न पनि दोहोरो जिम्मेवारी नरहनेगरी प्रस्ताव आउनसक्ने सो पार्टीका नेता कार्यकर्ताको भनाइ छ । त्यसोे त शक्ति सन्तुलन कायम गर्न केन्द्रीय सरकारका केही मन्त्रीहरु हेरफेर तथा मुख्यमन्त्रीहरुको समेत जिम्मेवारी हेरफेर गरेर जानुपर्ने आवाज नेकपाको सचिवालयमा धेरै पहिलेदेखि नै उठ्दै आएकाले त्यसको सन्तुलन मिलाउन समेत मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने धेरैको आँकलन छ ।
स्रोतका अनुसार दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गर्ने क्रममा ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने गरी पहिलो खाका बन्नेछ । त्यसपछि महाधिवेशन र मन्त्रिमण्डल पुर्नगठन तथा केही मुख्यमन्त्रीहरु फेरवदल गर्नेगरी कार्यदलले खाका तयार गर्नेछ ।
स्रोेतका अनुसार २ वर्ष मन्त्री भैसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना छ । तिनका स्थानमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई मौका दिने गरी ओली प्रचण्डबीच लगभग सहमति भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *