डेब्यू फिल्म नचल्दा निरिशा निराश, अब राम्रो ब्यानरमा मात्र काम गर्ने


काठमाण्डौ, ३२ साउन । डेब्यू फिल्म नचल्दा अभिनेत्री निरिशा बस्नेत निराश भएकी थिइन् । डेब्यू फिल्म नचल्दा आफू तीन महिनासम्म रोएको उनले बताएकी छन् । अब निरिशा राम्रो ब्यानरबाट अफर भए मात्र नेपाली फिल्म गर्ने बताउँछिन् । एउटा कलाकारका लागि डेब्यू फिल्मको व्यापारिक नतिजाले ठूलो अर्थ राख्छ । फिल्म चले करिअरले गति लिन्छ । असफल भए दोस्रो फिल्म पाउनै सकस हुन्छ । कतिको हकमा भने यी कुरा लागू हुँदैन । फिल्म असफल भएर पनि अभिनयका कारण चलेका धेरै कलाकार छन् । तर, अभिनय राम्रो हुँदा(हुँदै पनि फिल्मको असफलताले करिअर थामिएका उदाहरण पनि कम छैनन् । उनले फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्ममा उनको अपोजिटमा अभिनेता मनिष सुन्दर श्रेष्ठ थिए । फिल्मको कथा नै उनीहरुको वरिपरि घुमेको थियो । निर्माण टिमले प्रचार–प्रसार पनि राम्रै गरेको थियो । तर, फिल्मले दर्शकको ठूलो साथ पाउन सकेन । यो फिल्मको असफलताले निरिशा निराश भएकी थिइन् । भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा काम गरेपछि उनले यो फिल्म गरेकी थिइन् । तर, फिल्मको असफलताले उनलाई फेरि मुम्बई फर्कायो । उनले भनेकी छन्, ‘मलाई ‘जानी नजानी’ बाट ठूलो आशा र अपेक्षा थियो । फिल्म हेर्नुभएका दर्शक तथा समीक्षकले मेरो अभिनय रुचाउनु पनि भएको थियो । तर, फिल्म नचल्दा निराश भएको थिएँ ।’ डेब्यू फिल्म नचल्दा आफू तीन महिनासम्म रोएको उनले बताएकी छन् । ‘फिल्ममा मैले धेरै मेहेनत गरेको थिएँ । अफर भएका भारतीय प्रोजेक्टहरु छाडेर एक वर्षसम्म फिल्मकै लागि समय दिएँ । तर, फिल्म नचल्दा तीन महिनासम्म रोएको थिएँ । ६ महिना त नेपाल आउन पनि सकेको थिइनँ,’ उनले भनिन् ।
नेपाली अभिनेत्री निरिशाले भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ र ‘तेनाली रामा’ मा अभिनय गरेकी छिन् । निरिशा पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनले नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो फिल्म बक्सअफिसमा असफल भए पनि उनको अभिनयको प्रशंसा भएको थियो । अहिले उनी भारतको मुम्बईमा छिन् । हालै कोरोना संक्रमणबाट निको भएकी उनले भारतको चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा समेत अभिनय गरेकी छन् । डेब्यू नेपाली फिल्म असफल भएपछि निराश भएर मुम्बई फर्किएकी उनले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गर्दैछिन् । हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’ मा उनले केमियो भूमिकामा अभिनय गरेकी छन् । उनले आफ्नो भागको छायांकन पूरा गरिसकेकी छन् । ‘सब टिभी’ बाट ब्रोडकास्ट हुने सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरिरहेको छ ।
सिरियलमा आफ्नो भूमिकाबारे उनले भनिन्, ‘मेरो केमियो हो तर भूमिका कमजोर छैन । सिरियलमा मेरो कारणले नयाँ ट्विस्ट आउँछ । मेरो प्रवेशपछि कथा मोडिन्छ । मैले तीन महिना ‘चन्द्र नन्दिनी’ र दुई हप्ता ‘तेनाली रामा’ गरेँ । तर, त्यो तीन महिनाभन्दा यो दुई हप्ताको यात्रा तुलनात्मक हिसाबले बलियो छ ।’ उनले सिरियलमा निर्वाह गरेको चरित्रको बारेमा भने जानकारी दिइनन् ।
‘जानी नजानी’ गर्नका लागि निरिशा भारतबाट नेपाल आएकी थिइन् । यो फिल्मको छायांकन र प्रचारका लागि एक वर्ष समय दिँदा उनको हातबाट धेरै भारतीय प्रोजेक्टहरु फुत्केको थियो । फिल्म प्रदर्शन लगत्तै उनी भारत फर्किइन् । तर, एक वर्ष नेपाल बसेका कारण उनलाई पुनः मुम्बईमा सेटल हुन केही समय लाग्यो । अहिले आफूले काम र दाम दुवै राम्रो पाइरहेको उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *