कोरोनाबाट नेपालमा १०२ को मृत्यु, २६ हजार संक्रमित

काठमाडौं, ३२ साउन । कोरोनाबाट नेपालमा अहिलेसम्म १०२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शनिबार नेपालमा कोरोना भाइरसका थप चार सय ६८ जना संक्रमित भेटिएको बताए । ११ हजार २७ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए । अब नेपालमा कोरोना संक्रमित संख्या २६ हजार १९ पुगेको छ । देशभर ५ सय २३ जना होम आइसोलेसनमा बसेको उनले जानकारी दिए।एक सय २४ जना विगत २४ घण्टामा निको भएर घर फर्किएका छन् ।
यसैगरी, बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको जनाउँदै यही साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो । त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप क्लब क्षेत्रमा ठेलागाडा व र फुटपाथ व्यापार गर्न तथा भेला हुन निषेध गरिएको वडाध्यक्ष नवराज भट्टराईले बताए । समितिले नगरपालिकाले कोरोना रोकथामका लागि निकालेको सूचना पालना गराउन वडालाई आग्रहसमेत गरेको छ ।
यस्तै, काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ ।
वडा कार्यालयले हाल सञ्चालन गर्दै आएका दैनिक प्रशासनिक कार्य आगामी भदौ १० गतेपछि अवस्था हेरी पुनःसञ्चालन गर्न सकिने जनाएको छ । भीडभाड कम गर्न बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न निर्देशन दिइएको छ । अत्यावश्यकीय सेवाभित्र पर्ने वस्तु आपूर्ति गर्न बिहान ५ देखि ९ बजेसम्म सेवाप्रदायक संस्थालाई समय तोकिएको छ । स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको छ । वडा कार्यालयले स्थानीय उपभोक्ता समिति, विभिन्न क्लब, सामाजिक सङ्घसंस्था, समूहका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई समावेश गरी सम्बन्धित क्षेत्रमा अनुगमन गर्ने तथा अनावश्यक भीड गर्ने र पसल खोल्ने व्यवसायीलाई कारवाही गरिने व्यवस्था गरेको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो । वडामा अहिलेसम्म ४२ कोरोना सङ्क्रमित फेला परेका छन् ।
कामपा कार्यालयसँग समन्वय गरी वडा कार्यालयले बल्खु, टेकुसीलगायत स्थानमा निःशुल्क पिसिआर परीक्षण गराएको तथा अन्य स्थानमा समेत परीक्षण बढाउन प्रयास गरेको वडाअध्यक्ष सापकोटाले बताए । वडा कार्यालयले आफ्ना वडावासीलाई सामन्यावस्थामा घरदेखि बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र अति नै आवश्यक कार्यमा निस्कँदा दूरी कायम गरी सुरक्षाका उपाय अपनाउन आग्रहसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *