पहिरामा परी २१ जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं, ३२ साउन । सिन्धुपाल्चोक र वागलुङ जिल्लामा पहिरामा परी २१ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार शनिबारसम्म १८ जनाको शव फेला परेको छ । उनीहरूको सनाखतसमेत भइसकेको छ । पहिरोमा परेर जुगल गाउँपालिका २ का ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय तिजे झाँक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया सानो कान्छी भन्ने दावा लामु दोङ, ५ वर्षीया प्रिती दोङ, पाँच महिनाकी बालिका तारालामु दोङ, ३४ वर्षीया धनमाया तामाङ, चार महिनाका बालक रेमिश दोङको सनाखत भएको छ ।
यस्तै १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षका मेकमाई दोङ, ११ वर्षकी मेकमाई दोङ, ७ वर्षिया बिमला दोङ, सात महिनाका बालका कबिर दोङको शव शनिबार फेला परेको प्रहरीले जानकारी दिएको छ । लिदी लामागाउँमा गएको पहिरोमा ३७ घर पुरिएको थियो। ४० जना बेपत्ता थिए । तीमध्ये १६ जनाको शव भेटिएको हो। शव सनाखत गरेर कानूनी प्रक्रिया पूरा गरेपछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ । पहिरोमा बेपत्ताको खोजि जारी छ । पहिरोमा परी घाइते जुगल गाउँपालिका २ लिदीका ९ वर्षीय रूपबहादुर दोङ, ४३ वर्षीया जुनुमाया दोङ, ६० वर्षीया केवरिङ तामाङ, २३ वर्षीया पासाङ दोङ, दावा ग्याल्बो दोङको चौतारा अस्पतालमा र करिब ५० वर्षीया यामुलामु दोङको काठमाडौं बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, वागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय प्रवेश विक र वडा नं ३ की ६० वर्षीया बली विक छन् ।
घरमाथिबाट खसेको पहिरोमा पुरिएका तीनै जनालाई मृतावस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । मृतक वीरेन्द्र स्थानीयवासी हिरा विक र प्रवेश दिलसरा विकका छोरा हुन् । साठी वर्षीया बली ठुच्चे विककी श्रीमती रहेको प्रहरीले जनाएको छ । त्रिपन्न वर्षीया दिलसरा सामान्य घाइते भएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । पहिरो गएको खबर पाउनासाथ प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अविरल वर्षासँगै खसेको पहिरोले निसीखोलामा पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि अवरुद्ध भएको जनाइएको छ ।
यस्तै, गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन् । पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । उनले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निश्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुस्ख व्यक्त गरे । मन्त्री थापाले भने, ‘उहाँहरु साँझ सरेर अर्कै ठाउँमा बाँस बसेपनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकोले क्षति हुन पुग्यो ।’पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै त्यसमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको उनले बताए । उद्धार सकिएपछि वस्ती स्थानान्तरण गरी पीडितहरुका लागि उपयुक्त स्थानमा वासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने उनले आश्वासन दिए । गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री पुर्याइएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडा वर्तन, ४० वटा ब्ल्याकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन ६० थान पञ्जा लगिएको हो । सोही क्रममा मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारको तर्फबाट रु दुई लाख हस्तान्तरण गरेका छन ।
यसैगरी, पहिरोमा परी ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ राहत पाउने भएका छन् । विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो । काजकिरिया खर्चका लागि मृतकका परिवारलाई तत्काल २५ हजार रुपैयाँ पनि दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *