मेडिकल कलेजहरुलाई कोरोना विरामीकोे उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको निर्देशन


काठमाडौं, ३२ साउन । मेडिकल कलेजहरुलाई कोरोना विरामीको उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड–१९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको हो । कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन भनेको छ ।
यसैगरी,जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ । रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा गम्भीर समस्या भई सो अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार यही साउन २७ गते उपचारका लागि आएका उनको सघन उपचार कक्षमा उपचारका क्रममा स्वाब परीक्षण गर्दा साउन ३० गते कोभिड–१९ पोजिटिभ देखिएको थियो । अस्पतालका डा सन्दीप पाण्डेका अनुसार निजको हाल सघन उपचार कक्षमा नै स्थिर र गम्भीर अवस्थामा उपचार भइरहेको छ । मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन र हव अस्पताल भरतपुर अस्पतालसँग समन्वय गरी अस्पतालको सघन उपचार कक्षमा नै राखेर उपचारलाई निरन्तरता दिइएको उहाँले जानकारी दिए । यसका लागि सघन कक्षको व्यवस्थापन, चिकित्सकलगायत स्वास्थ्यकर्मीको क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापन अस्पतालले गरिसकेको समेत उनले जानकारी दिए ।सघन कक्ष भिन्न भवनमा रहेकाले सोलाई सिल गरी अर्को भवनबाट अन्य सेवा उच्च सावधानीका साथ निरन्तरता दिइएको अस्पतालले जनाएको छ । अस्पतालमा अन्य सेवा लिन आउने बिरामीका लागि जोखिम नरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । जिल्लामा अन्य अस्पतालमा कोरोना सङ्क्रमण देखिएमा हव अस्पतालका रुपमा रहेको भरतपुर अस्पताल पठाइँदै आएको थियो । जटिल बिरामीलाई हतारमा सार्दा दुई जनाको मृत्युसमेत भएको थियो ।
यस्तै, वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० शैयाको सुविधासम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालले हेटौँडा उपमहानगरपालिकासँग समेत सहकार्य गरेर हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा रहेको छात्रावास भवनमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो । केही दिनअघि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामालगायत विज्ञ एवं चिकित्सकको टोलीले त्यस क्षेत्रको अवलोकन गरी आइसोलेसन वार्ड सञ्चालनका लागि उपयुक्त हुने ठहर गरेको थियो । सामाजिक विकास मन्त्रालय, हेटौँडा अस्पताल र उपमहानगरको संयुक्त टोलीले पाँच दिनमै १२० श्ययाको वार्ड तयार पारेको अस्पतालले जनाएको छ । वार्डमा केही साताअघि लिसा हिमालयन इभीले सहयोग गरेको श्यया प्रयोग गरिएको छ । प्रदेशको प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकको विद्यालयबाट आइसोलेसन तथा क्वारेन्टिन हटाउन भएको निर्णय कार्यान्वयन गर्न तथा जिल्लामा बढ्दो सङ्क्रमित सङ्ख्यालाई ध्यानमा राख्दै आइसोलेसन वार्ड स्थापना गरिएको हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार मकवानपुरमा अप्रत्याशित रुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितलाई घरमै राख्नुपर्ने अवस्था सिर्जना भएको थियो । नवनिर्मित आइसोलेसन वार्डमा नेपाल प्रहरीका नौसहित १२ कोरोना सङ्क्रमितलाई राखिएको वार्ड प्रमुख डा सागर काफ्लेले जानकारी दिए । शुक्रबार साँझदेखि सङ्क्रमितलाई राखेर आवश्यक उपचार प्रक्रिया शुरु गरिएको डा काफ्लेले जानकारी दिए । उनका अनुसार आइसोलेसन वार्ड क्षेत्र परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षाका लागि खटाइएको छ । यसअघि अस्पतालले हेटौँडा–४ स्थित श्रमिक माविको भवनमा ३५ शैयाको आइसोलेसन वार्ड स्थापना गरेको थियो । अस्पतालका अध्यक्ष पौडेलका अनुसार आवश्यक परेका अवस्थामा विद्यालय खाली गर्न सकिने भए पनि सो आइसोलेसन तत्काल बन्द गरिनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *