‘दुई दिन भित्रै ल्याब सञ्चालनको अनुमति दिलाउने’

 

सुरुङ्गा, ३१ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनस्तरबाट झापाको कनकाई नगरपालिका–४ कोटीहोममा स्थापित पिसिआर ल्याब दुई दिनभित्र अनुमति दिलाउने प्रतिबद्धता जनाउनुभएको छ । ‘एकका लागि एक’ अभियानको अगुवाइमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको ल्याबको आज निरीक्षण गर्नु हुँदै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।“जनस्तरबाट स्थापित यो ल्याबलाई एकदुई दिनभित्रै अनुमति दिएर सञ्चालनको वातावरण बनाउँछु”, मुख्यमन्त्री राईले भन्नुभयो, “यो हाम्रो ल्याब हो, यसलाई तत्काल सञ्चालन गरिने छ ।” अन्य स्थानका ल्याबभन्दा कनकाईको पिसिआर ल्याब निकै राम्रो व्यवस्थापनका साथ स्थापित भएको उहाँले निरीक्षणका क्रममा बताउनुभयो । निरीक्षणपछि मुख्यमन्त्री राईले भन्नुभयो, “ल्याबको अनुमति कहाँ पुगेको छ, पत्र कहाँ अड्किएको छ, विराटनगर पुग्ने बित्तिकै आजै म सबैभन्दा पहिला त्यसको खोजी र आवश्यक काममा लाग्नेछु ।”सो अभियानका संयोजक, सदस्य, सहयोगदाता सबैलाई यस्तो प्रशंसनीय कामका लागि प्रदेश सरकारका तर्फबाट उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । जनस्तरबाट एक करोडभन्दा बढी रकम जुटाएर ल्याब स्थापना गरिएको हो । ल्याब मेची प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिए पनि अनुमति नपाउँदा सञ्चालनमा आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *