नेकपा विवाद समाधानका लागि कार्यदल गठन


काठमाडौं, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ । दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । महासचिव पौडेलका अनुसार सो कार्यदलका अन्य सदस्यमा नेताहरु भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन ।
कार्यदललाई चाँडोभन्दा चाँडो सहमतिको खाका तयार पार्न निर्देशन दिइएको छ । यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो । बिहीबारको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । ओलीसँगको छलफलपछि उनले थापागाउँस्थित एक निजी कलेजमा आयोजित भेलालाई सम्बोधन गरेका थिए । उक्त भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री एवं स्थायी कमिटी सदस्य घनश्याम भुषाल, स्थायी कमिटी सदस्य गोकर्ण विष्टसहित प्रदेश–५ का दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्य उपस्थित थिए । बिहीबारको बैठकपछि प्रचण्डले आफूपक्षीय नेता कार्यकर्तालाई ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *