पहिरामा परी ११ जनाको मृत्यु, ३३ जना बेपत्ता

काठमाडौं, ३० साउन । सिन्धुपाल्चोक र कालीकोटमा पहिरामा परी ११ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पनि लिदि पुगेका छन् । महर्जन अनुसार सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारीराखेका छन् । पहिरोले ३५ घरमा क्षति पु¥याएको उनले बताए । जुगल गाउँपालिकाले साउन २२ गते लिदिका १७२ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको थियो । जुगल गाउँपालिका अनुसार वडा नम्बर २ कै सानोनाम्फा, सुकुली, सञ्चगाउँ, भुल्के, निम्लुङ, बैगाङ टोल पनि पहिरोको जोखिममा छन् ।
यसैगरी, कालीकोटमा पहिरोले पुरेर मृत्यु भएका एकै परिवारका सबै ६ जनाकै सनाखत भएको छ । महावै गाउँपालिका(३, नकुमा बिहीबार राति १२ बजे वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुर्दा उनका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीया सविना विष्ट र १५ वर्षीया आशा विष्टको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । त्यस्तै राजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेखा विष्टको पनि सोही पहिरोमा परी मृत्यु भएको उनले बताए । एसएसपी बास्तोलाका अनुसार उनीहरु रातिको १२ बजेसम्म घरमै तीजको नाचगान गरिरहेका थिए । माथिबाट एक्कासी पहिरो आएपछि उनीहरु पुरीएका थिए । शुक्रबार बिहान मात्रै शव निकालिएको थियो । यस्तै कालीकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुर्दा दुईजना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैहरेको प्रदेश प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *