राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ३० साउन । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण अनिश्चितकालका लागि स्थगित भएको छ । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण अनिश्चितकालका लागि स्थगित भएको हो । एसियन फुटबल कन्फेडेरेसन (एफएसी) ले बुधबार २०२१ सम्मका लागि विश्वकप र एसियन कपको छनोटको खेलहरु नहुने निर्णय गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि नेपाली टोलीको प्रशिक्षण स्थगित गरिएको जानकारी गराएको हो । एन्फाले विश्वकप र एसियन कपको दोस्रो चरणको अन्तिम तीन खेलको लागि १ भदौबाट प्रशिक्षण थाल्ने योजना बनाएको थियो । सोही अनुरुप एन्फाले १७ बुदे प्रोटोकल तयार पार्दै बन्द प्रशिक्षणमा डाकिएका ३४ खेलाडीसहित ५४ जनाको सोमबार र मंगलबार स्वाव संकलन गरेको थियो ।सोमबार स्वाव संकलन गरिएका सबै २५ जनाको बुधबार कोरोना नेगेटिभ आएको थियो । बाँकी खेलाडी तथा अफिसियलको बिहीबार रिपोर्ट आउन सक्नेछ । एन्फाले अर्काे सुचना जारी नभएसम्म राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरिएको र फिफा, एएफसीबाट छनोट खेलको तालिका तय भएपछि प्रशिक्षण थालिने जानकारी गराएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर नै संक्रमण बढ्दै गएपछि एन्फाले एक साताका लागि केन्द्रिय कार्यालय समेत बन्द राख्ने निर्णय गरेको छ । एन्फाले सोमबार मात्रै १५ भदौलाई तय भएको साधारण सभा समेत स्थगित भएको घोषणा गरेको थियो ।
यसैगरी, कतार विश्वप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको ११ सदस्यसहित २५ जनाको कोरोना टेस्ट नेगेटिभ आएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा सोमबार गरिएको स्वाब संकलनको बुधबार नतिजा आउँदा सबै २५ जनाकै कोरोनाको पीसीआर टेस्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । सोमबार उपत्यका बाहिरबाट आएका विशाल राई, देवेन्द्र तामाङ, रवि पासवान, रन्जित धिमाल, मिक्छेन तामाङ, पुजन उपरकोटी, विमल राना, दीप कार्की, छिरिङ गुरुङ, दिलेन लोक्ताम र दर्शन गुरुङको तथा फिजियो आविस्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको स्वाव संकलन गरेको थियो । यस्तै एन्फा होस्टेलका ६ जना किचेन स्टाफ, २ स्टाफ र ४ जना सहयोगीको स्वाव संकलन गरिएको थियो । मंगलबार स्वाव संकलन गरिएका अन्य खेलाडी र अफिसियलको बिहीबार रिपोर्ट आउन सक्नेछ । एन्फाले सोमबार र मंगलबार दुई दिनमा ३४ खेलाडीसहित ५४ जनाको स्वाव संकलन गरेको थियो ।
यस्तै, कोरोना संक्रमणको दर झनै बढ्न थालेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो १९औं साधरणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फाले १५ भदौमा साधरणसभा गर्ने जेठको पहिलो साता बसेको बैठकले निर्णय गरेको थियो । एन्फाका प्रवक्ता किरण राईले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण दर झनै बढ्दै गएको, समुदाय स्तरमा संक्रमणको विस्तार हुन सक्ने उच्च जोखिमसमेत देखिएकाले स्थगित गर्नुपरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
यसैगरी नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन निकायबाट गोष्ठी, भेला, सम्मेलन, आवगमन जस्ता कार्यहरु निषेध गरेको परिपेक्षमा सतर्कता अपनाउनुपर्ने भएकाले एन्फको साधरणसभा अर्काे सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको उल्लेख गरेको छ । एन्फाले अब स्थिति अनुकुल भएपछि नयाँ मिति निर्धारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *