पार्टीको आन्तरिक विवाद समाधान गर्न ओली र प्रचण्डबीच छलफल

काठमाडौं, ३० साउन । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच चार घण्टा छलफल भएको छ । पार्टीको आन्तरिक विवाद समाधान गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा चार घण्टा छलफल भएको हो । ओली–प्रचण्डबीच साउन २० गतेपछि बिहीबार पहिलो पटक पार्टीको आन्तरिक विवाद समाधानबारे छलफल भएको हो । बिहीबारको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
सवा ११ बजेबाट सुरु भएको छलफल सवा ३ बजेसम्म चलेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको छ ।
‘पार्टीभित्र देखिएका समस्याहरुको समाधानउन्मुख कोणबाट छलफलको सुरुवात भएको छ भन्ने कुरा आएको छ,’ सापकोटाले जानकारी दिए । यसअघि निकास नआउने भेटवार्तामा बस्नुको औचित्य नभएको भन्दै प्रचण्डले निकास आउनेगरी मात्रै वार्तामा बस्ने ओलीलाई सन्देश पठाएका थिए । बिहीबार ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता भइरहँदा महासचिव विष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्मा पनि बालुवाटारमै रहेका थिए । उनीहरु कहिले छुट्टै त कहिले दुई नेताबीचको कुराकानीमा पनि सहभागी भएको प्रधानमन्त्री ओलीका संचारविज्ञ रामशरण बजगाईले जानकारी दिए । यसअघि बुधबार प्रधानमन्त्री केपी ओलीले ५ दिनभित्र नेकपामा नयाँ सिनारियो देखिने बताएका थिए ।पछिल्लो समय स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको माग उठेपछि नेकपामा विवाद चुलिएको हो । अधिकांश स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले पछिल्लो समय डाकिएको बैठक स्थगित गरिदिएका थिए । अहिले नेकपा स्थायी कमिटी बैठक अनिश्चित छ । बैठक स्थगित भएपछि प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष प्रचण्डले पटक–पटक सामूहिक छलफल गरेका थिए । २० गतेको बैठकपछि भने दुई अध्यक्षबीच भेटघाट भएको थिएन ।
यसैगरी, नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग भएको कुराकानीबारे पार्टीका वरिष्ठ नेता र केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ गरेका छन् । बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफल गरी प्रचण्ड सिधै थापागाउँस्थित एक निजी कलेजमा आयोजित भेलालाई सम्बोधन गर्न गएका थिए । उक्त भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री एवं स्थायी कमिटी सदस्य घनश्याम भुषाल, स्थायी कमिटी सदस्य गोकर्ण विष्टसहित प्रदेश–५ का दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्य उपस्थित थिए । उनले उक्त कार्यक्रममा पनि बालुवाटार बैठकमा भएका केही कुरा सेयर गरेका थिए । त्यसपछि पार्टीका वरिष्ठ नेताहरूसँग अलग्गै कुराकानी गर्दै बालुवाटार बैठकबारे ब्रिफिङ गरेको प्रचण्डनिकट एक नेताले बताए । ’प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षको हैसियतले पूर्ण रूपमा पार्टी चलाउन मलाई आग्रह गर्नुभएको छ। उहाँलाई प्रधानमन्त्रीमा पाँचै वर्ष सहयोग गर्न पनि प्रस्ताव गर्नुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने । अब बस्ने केन्द्रीय समिति बैठकमार्फत् महाधिवेशन आयोजक समिति र अन्य उपसमितिहरू बनाउने प्रस्ताव आएको पनि उनले जानकारी दिए। कतिपय प्रदेशका मुख्यमन्त्री र पार्टीका इन्चार्जहरू फेर्न सकिने प्रस्तावसमेत प्रधानमन्त्री ओलीले राखेको प्रचण्डले ब्रिफिङमा बताएका थिए । स्रोतअनुसार सहमतिको खाका तयार पार्न भोलि शुक्रबार कार्यदल गठन हुनेछ । भोलिकै बैठकले कार्यदलमा को–को सदस्य रहने निर्धारण गरेर जिम्मेवार तोक्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *