विभाग गठन गरेकोमा जिल्ला सभापतिहरुको आपत्ति, विभागमा बस्न अस्वीकार

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेको विभागको बारेमा जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन । काठमाडौँ उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा आएका काँग्रेसका जिल्ला सभापतिको बुधबार सम्पन्न बैठकले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गरेकोमा आपत्ति जनाएको हो । बैठकले वर्तमान केन्द्रीय समितिलगायत सम्पूर्ण समितिले आफ्नो कार्यकालको अवधि पूरा गरिसकेको अवस्थामा विभागमा अवैधानिक एवं स्वेच्छाचारी ढङ्गले मनोनयन गरिएको आरोप लगाएको छ । बैठकले लामो समय कसैलाई पनि जिम्मेवारी नदिइ स्वेच्छाचारी तवरले सञ्चालन गरी महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभागलाई अमान्य ठहर गरेको काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए । बैठकले केन्द्रीय समितिको बहुमतले उल्टाएका महासमितिको निर्णय अक्षरशः पार्टीको १४औँ महाधिवेशनमा प्रस्तावका रूपमा अगाडि बढाउने निष्कर्षसमेत निकालेको उनले बताए । जिल्ला सभापतिले पार्टीको कार्यविधिअनुसार समायोजन सम्पन्न भएका डडेल्धुरा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा विभिन्न बहानमा रोकिएको क्रियाशील सदस्यता फाराम तत्काल उपलब्ध गराउन माग गर्नुभएको छ । बैठकले विधानअनुसार तत्काल कारवाही गरिनुपर्नेलाई नगरी महाधिवेशनको कार्यतालिका प्रकाशित भइसकेपछि प्रतिशोधको आधारमा कारवाही गरिएको जनाउँदै त्यस प्रकारका गतिविधि रोक्नु नेतृत्वसँग आग्रह गरेको छ । साथै आसन्न १४औँ महाधिवेशनबाट आर्थिक पारदर्शिता, स्पष्ट राजनीतिक दृष्टिकोण, स्थानीय तहसम्मका मतदाताले प्रत्यक्ष अनुभूति गर्ने गरी भावि रणनीतिक योजनासहित नीति तथा नेतृत्व स्थापित गर्ने अभियानको घोषणासमेत गरिएको छ । यसैगरी पार्टी एकीकरण वा प्रवेश गर्ने समूह वा व्यक्तिको हकमा पार्टीको विधानअनुसार पार्टीको तल्लो तहबाटै क्रियाशील सदस्यता दिने व्यवस्था सुनिश्चित गर्न जिल्ला सभापतिले माग गरेका छन् ।
बैठकले १४ औं महाधिवेशनको मुखमा फेरि पुरानै एजेन्डा ब्युँताएको छ । केन्द्रीय तहका नेताहरू पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने नियम लागू गर्नुपर्ने सभापतिहरूको माग छ । यसअघि भएको महासमिति बैठकमा पनि उनीहरूले यो माग उठाएका थिए तर विधानमा समेटिएको थिएन । बुधबार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूको भेलाले सबै तहका नेता वडाबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधिका रूपमा आउनुपर्ने व्यवस्था राख्न माग गरेका हुन् । उक्त एजेन्डा फागुनमा हुने महाधिवेशनमा प्रस्तावका रूपमा लैजाने उनीहरूको भनाइ छ ।‘पार्टीका सबै तह र तप्काका व्यक्तिहरू वडा तहदेखि नै निर्वाचित भई आउनु पर्छ,’ नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले भने, ‘समावेशी, समानुपातिक कोटाबाट प्रतिनिधित्व गर्ने व्यक्तिले एकपटक मात्र उक्त जिम्मेवारीको अवसर पाउने व्यवस्था गरिनुपर्छ । यसअघि महासमितिमा यी विषयमा छलफल भए पनि केन्द्रीय समिति बैठकले उक्त विषयलाई निरन्तरता दिएको थिएन । कांग्रेस विधानअनुसार पदाधिकारी र केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुन्छन् । यो व्यवस्था हटाउनका लागि जिल्ला सभापतिहरूले वडाबाटै निर्वाचित भएपछि मात्रै महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गर्नुपर्ने माग राखेका हुन् ।
यसैगरी,सभापति देउवाले एकलौटी रूपमा ४७ मध्ये ३० बढी विभाग गठन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गर्दै आएका छन् । पौडेलले आफू पक्षीय नेता र कार्यकर्तालाई देउवाले बनाएका विभागमा नबस्न अपिल गरेका छन्।सोही अनुरूप पौडेल पक्षीय नेतारकार्यकर्ताहरूले सार्वजनिक रूपमै देउवाले बनाएका विभागमा नबस्ने बताएका छन् । दैलेखका कांग्रेस नेता शिवराज जोशीले पार्टी विभागमा बस्न अस्वीकार गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पूर्वश्रम तथा यातायात व्यवस्था राज्यमन्त्री समेत रहेका जोशीलाई साउन २५ गते राज्य प्रशासन विभाग सदस्य मनोनित गरेका थिए । आफू विभाग सदस्य रहेको जानकारी पाएको तीन दिनपछि जोशीले सार्वजनिक रूपमा विज्ञप्ति जारी गर्दै आफू उक्त विभागमा नबस्ने बताएका हुन् ।
यस्तै,प्युठान कांग्रेस जिल्ला कार्यसमितिका पूर्वसभापति सुभाष केसीले पनि विभागमा बस्न असहमति जनाएका छन् । उनी निर्माण व्यवसायी समन्वय विभाग सदस्य मनोनित भएका थिए । उक्त विभाग संयोजकमा वीरबहादुर बलायर छन ।
यसैगरी,महिला संघ तनहुँकी उपसभापति चन्द्रकला भट्टराईले पनि विभागमा बस्न अस्वीकार गरेकी छन् । सभापति देउवालाई सम्बोधन गर्दै केन्द्रीय कार्यालय सानेपामा पत्र पठाएकी भट्टराईले महाधिवेशन प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभागमा बस्नुको औचित्य नभएको बताएकी छन । सभापति देउवाले साउन २५ मै भट्टराईलाई स्थानीय तह समन्वय विभाग सदस्य मनोनित गरेका थिए । विभागको संयोजकमा अर्जुनप्रसाद जोशी छन् ।। यसैबीच कांग्रेसका १२ जना केन्द्रीय सदस्यले साउन २७ गते संयुक्त रूपमा विज्ञप्ति निकालेर गठन भएका विभाग खारेज गर्न आग्रह गरेका थिए । केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादवले मंगलबार निकालेको विज्ञप्तिमा अहिले विभाग गठन गर्नु औचित्यहीन भएको बताएका हुन । अहिले गठन गरेका विभागहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्न समय नपाउने पनि उनीहरूको भनाइ छ । २८ विभाग रहेकोमा सभापति देउवाले संख्या बढाएर ४७ पु¥याएका थिए । विभाग गठन पूर्व वरिष्ठ नेता पौडेलसँग पनि विभागमा रहनेको नाम माग्दा पौडेलले दिएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *