देशभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो, ९६ जनाको मृत्यु, काठमाडौं आउन–जान प्रतिबन्ध

काठमाडौं, ३० साउन । मुलुकभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । बिहीबार कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएसगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९६ पुगेको हो । मृतकमध्ये ७३ जना पुरुष र २२ जना महिला छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष, धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको हो । यस्तै अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । मुटुको बिरामी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । यस्तै बितेको २४ घण्टामा थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा उपत्यकाका १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ । हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् ।
यसैगरी,कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो । अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिँइदै आएको पास पूर्ण रूपमा बन्द गरिएको बताए । उनका अनुसार अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास दिने छैनन् । गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न परिपत्र गरेको थियो । एम्बुलेन्स, खाद्यन्न ढुवानी, सञ्चार माध्यम लगायतका पास आवश्यक नपर्ने सवारी साधन भने चल्न पाइने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएका छन् । बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको हो । महानगरी प्रहरी वृत्त , कालिमाटीका डिएसपी रूगम कुँवरका अनुसार विशेषगरी कलंकी चोकका पसलहरू बन्द गरिएको छ ।’कोरोना संक्रमितहरू धेरै बढ्न थालेपछि स्थानीय क्लब, स्थानियवासी, वडा कार्यालय र प्रहरीको समन्वयमा पसलहरू बन्द गरिएको हो,’उनले भने,’जोखिम झन् बढ्ने भएकाले यस्तो गरेका हौं।’उनका अनुसार वडा नम्बर १४ मा २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएका छन् । प्रहरीले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ । त्यस्तै, प्रहरीले अनावश्यक रूपमा हिँड्डुल समेत नगर्न अनुरोध गरेको छ ।’संक्रमितहरू धेरै बढेकोले हामीले अनावश्यकरूपमा हिँडडुल पनि नगर्न अनुरोध गरेका छौं तर काम परेर हिँडेकाहरूलाई अवरोध गरेका छैनौं,’उनले भने ।
उता, मकवानपुरमा १० जना प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका हुन् । कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ का ७ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर का १ जना, वडा नम्बर १३ का १ जना गरी १८ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताए । त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ जनामा संक्रमण देखिएको हो । नेपाल प्रहरी १० जनामा कोरोना पुष्टि भएको चौलागाईंले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *